×

गैँडाकोट-  गैँडाकोट नगरपालिकाले नगर क्षेत्रभित्र कृषि कार्यका लागि प्रयोग हुने ट्र्याक्टरको नयाँ भाडादर तोकेको छ। कृषि प्रयोजनका लागि गरिने खनजोत र चुटानी कार्यको सेवा शुल्कमा एकरूपता ल्याउन नगरपालिकाले यस्तो निर्णय गरेको हो।

नगरपालिकाको १४ औँ नगर कार्यपालिका बैठकले कृषक र ट्र्याक्टर सञ्चालक दुवैको हितलाई ध्यानमा राख्दै नयाँ दररेट पारित गरेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिनुभयो।

नयाँ व्यवस्था अनुसार अब कल्टिभेटर र हाईरो वा तावा हलोबाट खेत जोतेको प्रतिघण्टा ३ हजार रुपैयाँ शुल्क लाग्नेछ। यसैगरी, रोटाभेटरबाट जोताई गर्दा र थ्रेसर प्रयोग गर्दा प्रतिघण्टा ३ हजार ३ सय रुपैयाँ तिर्नुपर्ने नगरपालिकाले जनाएको छ।

यसअघि निश्चित दररेट नहुँदा जथाभावी शुल्क लिने गरिएको गुनासो आउने गरेकोमा अब यो निर्णयसँगै स्थानीय किसानहरूलाई राहत पुग्ने विश्वास लिइएको छ। यो निर्णय तत्कालै लागू हुने गरी नगरपालिकाले सम्बन्धित सबैका लागि सूचना जारी गरिसकेको छ।

तपाईको प्रतिक्रिया