×

काठमाडौँ –  गुल्मी, बागलुङ र प्युठानमा हालै आएको विनाशकारी हावाहुरीले ठूलो क्षति पुर्‍याएपछि सो क्षेत्रका सांसदहरूले पीडितहरूलाई तत्काल राहत तथा उचित बासको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको सुरुमै विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू गोविन्द पन्थी, सोम शर्मा र सुशान्त वैदिक तथा नेकपाका सांसद बलावती शर्माले प्राकृतिक विपत्तिबाट भएको क्षतिबारे सदनलाई जानकारी गराउनुभएको हो । उहाँहरूले पीडित परिवारलाई उचित क्षतिपूर्ति र बसोबासको व्यवस्थापन मिलाउन सरकारसँग जोडदार माग गर्नुभयो ।

बैठकमा गुल्मीका सांसद गोविन्द पन्थीले जिल्लाको मालिका, नेटा र घमिर लगायतका क्षेत्रमा मात्रै करिब १५० घरको छाना उडेको जानकारी दिनुभयो । हावाहुरीका कारण घरमा भण्डारण गरिएको खाद्यान्न नष्ट भएको र बालीनालीमा समेत व्यापक क्षति पुगेकाले प्रभावित नागरिकका लागि तत्काल राहत तथा पुनर्स्थापनाको प्याकेज ल्याउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै, बागलुङ जिल्लाको बडिगाड गाउँपालिका क्षेत्रमा पनि हावाहुरी र असिनापानीका कारण दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । विपत्का कारण स्थानीयको फलफूल तथा मकै लगायतका कृषि बाली पूर्ण रूपमा नष्ट भएको छ । हावाहुरीले विद्यालयको छाना समेत उडाएपछि विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ भने बिजुलीका पोलहरू ढल्दा प्रभावित क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सांसदहरूले संकटको यस घडीमा राज्यको उपस्थिति देखिनुपर्ने भन्दै गृह मन्त्रालयमार्फत तत्काल उद्धार, राहत सामग्री वितरण र अस्थायी आवासको व्यवस्था मिलाउन माग गरेका छन् ।

तपाईको प्रतिक्रिया