नवलपुर। बौदीकाली गाउँपालिकाले शैक्षिक सुधारलाई आफ्नो मुख्य प्राथमिकतामा राख्दै गाउँपालिका भित्रका बालविकास सहजकर्ताहरूका लागि ३ दिने प्रारम्भिक बालविकास (ECD) पुनर्ताजगी कार्यशाला सुरु गरेको छ।
गाउँपालिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयका बालविकास सहजकर्ताहरूको सहभागिता रहेको उक्त कार्यशाला ‘राइट फोर चिल्ड्रेन’ (Right 4 Children) सँगको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको हो। बालविकास तह नै विद्यार्थीहरूको विद्यालय प्रवेशको पहिलो र मुख्य चरण भएकाले बालबालिकाको सिकाइ जगलाई सुरुवाती दिनदेखि नै मजबुत बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
जसरी एउटा घरलाई सुरक्षित र दिगो बनाउन बलियो जगको आवश्यकता पर्छ, त्यसरी नै समग्र विद्यालय शिक्षालाई गुणस्तरीय, प्रतिस्पर्धी र परिणाममुखी बनाउन प्रारम्भिक बालविकास तह बलियो हुनुपर्छ भन्ने मान्यता गाउँपालिकाले राखेको छ। यसै सन्दर्भलाई जोड्दै बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले गाउँपालिका अहिले शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गर्ने महाअभियानमा जुटेको बताउनुभयो।

उहाँले विद्यालय शिक्षाको सबैभन्दा मुख्य आधार स्तम्भ नै बालविकास तह भएकाले सहजकर्ताहरूलाई नयाँ, बालमैत्री र आधुनिक शिक्षण विधिमा पोख्त बनाउँदै पालिकाका नानीबाबुहरूको उज्ज्वल भविष्य निर्माण गर्नु गाउँपालिकाको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो। साथै ‘राइट फोर चिल्ड्रेन’ सँगको यो सहकार्यले गाउँपालिकाको शैक्षिक उद्देश्य प्राप्तिमा कोशेढुङ्गाको काम गर्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो।
३ दिनसम्म चल्ने यस पुनर्ताजगी कार्यशालामा सहजकर्ताहरूलाई बालबालिकाहरूको मनोविज्ञान बुझेर खेल, कला र मनोरञ्जनात्मक गतिविधि मार्फत सिकाउने आधुनिक विधिहरूको अभ्यास गराइने छ। यसका साथै कक्षाकोठा व्यवस्थापन क्षमतालाई थप तिखार्न र स्थानीय स्तरमा उपलब्ध कम लागतका स्रोत-साधनको प्रयोग गरी आकर्षक शिक्षण सामग्री निर्माण गर्ने व्यावहारिक सीप समेत प्रदान गरिने छ।
कार्यशालामा सिकेका ज्ञान र प्रविधिलाई सहभागी सहजकर्ताहरूले आफ्ना विद्यालयका कक्षाकोठाहरूमा व्यावहारिक रूपमा लागू गर्ने प्रतिबद्धता जनाएका छन्। यो कार्यशालाले बौदीकाली गाउँपालिकाको जगैदेखिको शैक्षिक गुणस्तर सुधारमा ठूलो र सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।



उज्यालो खबर




