×

चितवन । चितवन उद्योग वाणिज्य संघले अबदेखि सोमबार पनि व्यवसाय नियमित सञ्चालन गर्न र शनिबार मात्रै बजार बन्द गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ । संघले आइतबार एक अपिल जारी गर्दै बजार बन्द हुने दिन परिमार्जन गरिएको जानकारी गराएको हो ।

विगत लामो समयदेखि चितवनमा प्रत्येक सोमबार व्यवसाय बन्द गर्ने अभ्यास रहँदै आएको थियो । यसलाई व्यवसायिक अनुशासन, ऐक्यबद्धता तथा बजार व्यवस्थापनको सकारात्मक कडी मानिए पनि पछिल्लो समय सिर्जना भएको अन्योलका कारण दिन परिवर्तन गर्नु परेको संघले जनाएको छ । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गरिसकेको अवस्थामा सोमबार पनि बजार बन्द हुँदा व्यवसायी, उपभोक्ता तथा सेवाग्राहीमा अन्योल सिर्जना भएपछि संघले यस्तो निर्णय लिएको हो ।

यसै सन्दर्भमा आइतबार संघ र विभिन्न वस्तुगत संघहरूबीच सम्पन्न संयुक्त बैठकले अब उप्रान्त सम्पूर्ण व्यवसाय सोमबार नियमित सञ्चालन गर्ने तथा शनिबार सामूहिक रूपमा बन्द गर्ने निर्णय गरेको संघका अध्यक्ष चिरन्जीवी सुवेदीले बताउनुभयो ।

अध्यक्ष सुवेदीका अनुसार व्यवसाय सञ्चालन गर्ने वा नगर्ने अधिकार प्रत्येक व्यवसायीमा निहित भए तापनि एउटै दिन सामूहिक रूपमा व्यवसाय बन्द गर्ने अभ्यासले व्यवसायीहरूको साझा आवाजलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ । विशेषगरी कर नीति, बजार व्यवस्थापन, व्यवसायिक हकहित, आर्थिक चुनौती तथा निजी क्षेत्रसँग सम्बन्धित विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सामूहिक एकता महत्वपूर्ण हुने संघको अपेक्षा छ ।

त्यस्तै, शनिबार एक दिन मात्र व्यवसाय बन्द गर्दा व्यवसायी तथा कर्मचारीहरूलाई नियमित विश्राम मिल्नुका साथै सरसफाइ, स्टक व्यवस्थापन, मर्मत सम्भार तथा आन्तरिक प्रशासनिक कार्यहरू व्यवस्थित गर्न सहज हुने संघद्वारा जारी अपिलमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया