काठमाडौं – सभामुख डीपी अर्याल ले प्रतिनिधिसभा नियमावलीअनुसार संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन आग्रह गरे पनि बालेन शाह ले आगामी साता समय दिन अस्वीकार गरेका छन्।
प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता एक दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ। उक्त कार्यक्रमको समय सभामुखले निर्धारण गर्ने प्रावधान रहेको छ। तोकिएको समयमा सम्भव नभए अर्को समय तोकिने व्यवस्था भए पनि प्रश्नोत्तर कार्यक्रम टार्न नपाइने उल्लेख छ।
नियमावली कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख अर्याल प्रधानमन्त्री कार्यालय पुगेका थिए। भेटमा उनले अर्को साताको कुनै दिन संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
तर प्रधानमन्त्री शाहले तत्काल समय दिन नमानेको जानकारी सभामुखले कार्य व्यवस्था परामर्श समितिमा सहभागी सांसदहरूलाई गराएका थिए। समितिमा प्रमुख सचेतक, सचेतकहरू तथा कानुनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ।
एक सांसदका अनुसार प्रधानमन्त्रीले “उपयुक्त समयमा संसदमा आएर जवाफ दिने” बताएका थिए।
संसदीय परम्पराअनुसार नीति तथा कार्यक्रममाथिको छलफलमा समेत प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्रीले प्रतिनिधिसभा नियमावलीको व्यवस्था समेत पालना नगरेको आरोप विपक्षीको छ।
नेपाल कम्युनिस्ट पार्टी का प्रमुख सचेतक युवराज दुलाल ले प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म विरोध जारी रहने चेतावनी दिएका छन्।
‘हामी आजको बैठकमा पनि विरोध जारी राख्छौं, त्यसपछि दलहरूबीच छलफल गरेर अगाडि बढ्छौं,’ दुलालले बताएका छन्।



उज्यालो खबर




