काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबे ले पाथीभरा केबलकार आयोजनाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थेबेले पाथीभरा केबलकार निर्माण कार्य हालका लागि रोकिएको भन्ने सूचना बाहिरिएको उल्लेख गर्दै सरकारको स्पष्ट निर्णयबारे प्रश्न उठाए। उनले सरकारबाट मौखिक निर्देशनमार्फत काम रोकिएको भनिए पनि त्यसबारे औपचारिक धारणा नआएको बताए।
उनका अनुसार, “सरकारले मौखिक निर्देशनमा रोकिएको भन्ने सूचना बाहिरिएको छ। तर प्रश्न यो हो कि सरकारको आधिकारिक धारणा के हो? यो आयोजना बन्ने हो कि रोकिने हो?” भन्दै उनले सरकारसँग स्पष्टता मागे।
थेबेले ताप्लेजुङका स्थानीयबासीहरू अन्योलमा परेको उल्लेख गर्दै एकातर्फ विरोधका कार्यक्रम भइरहेका र अर्कोतर्फ विकास, पर्यटन, रोजगारी र पूर्वाधारका दृष्टिले आयोजना आवश्यक रहेको बहस चलिरहेको बताए।
उनले यस्तो संवेदनशील विषयमा सरकार मौन बस्न नहुने भन्दै तत्काल स्पष्ट निर्णय सार्वजनिक गर्न आग्रह गरे।




उज्यालो खबर




