×

चितवन-  चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका एउटै परिवारका तीन जना चेपाङ बालबालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ रहेका छन् । उनीहरू श्यामबहादुर चेपाङका सन्तान हुन् ।

राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमुनाको जेठ १ गते घरमै मृत्यु भएको थियो । सञ्जयको शनिबार राति उपचारका क्रममा निधन भएको हो भने मनिताको आज बिहान भरतपुर अस्पताल मा उपचारका क्रममा मृत्यु भएको हो ।

वैशाख २९ गते परिवारले जंगलबाट ल्याएको जङ्गली च्याउ पकाएर खाएका थिए । त्यसपछि परिवारका सदस्यहरू बिरामी परेका थिए । गम्भीर अवस्थामा रहेका तीन बालबालिकालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।

मृतक नमुना कक्षा २, सञ्जय कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत रहेको विद्यालयले जनाएको छ । बालबालिकाका बुबाआमा भने सकुशल रहेका छन् । दुई जनाको दाहसंस्कार सम्पन्न भइसकेको छ भने आज मृत्यु भएकी मनिताको शव बुझ्ने तयारी भइरहेको प्रधानाध्यापक मगरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया