×

जिल्ला प्रहरी कार्यालय नवलपुरले देवचुली नगरपालिका–१६, रजहर क्षेत्रमा गरेको सवारी जाँचका क्रममा ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ।

आइतबार बिहान करिब ९:३० बजे बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्र.०३०३–००१ ख ३८२६ नम्बरको ट्रकलाई प्रहरीले रोकेर जाँच गर्दा कुनै पनि बिल–भरपाइ बिना विभिन्न सामग्री फेला परेको हो।

उक्त ट्रकका चालक भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका–८ निवासी ३० वर्षीय सजेन्द्र मचामसी रहेका छन्। बरामद सामानसहित चालक र ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बरामद सामानमा ‘Air Pods Pro’ लेखिएका ७ सय थान एयरबड, विभिन्न कम्पनीका १,६८० प्याकेट मोबाइल ग्लास, ‘Series 9’ र ‘Ultra 91’ लेखिएका २०५ थान स्मार्टवाच, ‘Baoting BF 888S’ लेखिएका ६८ सेट पोर्टेबल टु–वे रेडियो, ‘Nike’ लेखिएका ६५ जोर जुत्ता, ‘Birhers Fock’ लेखिएका ३७४ जोर चप्पल तथा ७ हजार थान वाटरप्रुफ मोबाइल पाउच रहेका छन्।

प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य करिब १८ लाख १५ हजार रुपैयाँ र ट्रकको मूल्य करिब ४० लाख रुपैयाँ रहेको छ। यसअनुसार बरामद सामग्री र सवारीसाधनको कुल मूल्य करिब ५८ लाख १५ हजार रुपैयाँ बराबर हुने बताइएको छ।

प्रहरीले अवैध ढुवानीबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया