गैंडाकोट- गैंडाकोटस्थित सरस्वती निकेतन माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै भव्य बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ४.०० GPA ल्याएर विद्यालय तथा गैंडाकोट नगरकै गौरव बढाउने विद्यार्थी केशव आचार्यलाई नगद २५ हजार रुपैयाँसहित विशेष सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं गैंडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले विद्यार्थी, शिक्षक र अभिभावकबीचको त्रिकोणात्मक समन्वय, मेहनत र अनुशासनकै परिणामस्वरूप यस्तो गौरवपूर्ण सफलता हासिल भएको बताउनुभयो। उहाँले निरन्तरको परिश्रमले मात्र सफलता सम्भव हुने उल्लेख गर्दै विद्यार्थीहरूलाई अझ उच्च लक्ष्यसहित अघि बढ्न प्रेरित गर्नुभयो।
विशिष्ट अतिथि गैंडाकोट वडा नं. १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले केशव आचार्यले ४.०० GPA ल्याएर वडाको गरिमा बढाएकोमा खुसी व्यक्त गर्नुभयो। “असल, संस्कारी र मेहनती छोराछोरी हुने अभिभावक संसारकै सबैभन्दा धनी हुन्छन्,” उहाँले भन्नुभयो। साथै, वडाभित्रका विद्यालयहरूमा गुणस्तरीय अध्ययन-अध्यापन र सिर्जनात्मक लेखनको वातावरण निर्माण गर्न आफूले आवश्यक निर्देशन दिइसकेको जानकारी पनि उहाँले दिनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलापति शर्माले शिक्षक, अभिभावक तथा विद्यालयप्रतिको निरन्तर विश्वास र सहकार्यकै कारण विद्यालयले उत्साहजनक नतिजा हासिल गर्न सकेको बताउनुभयो। उहाँले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक भरतबाबु कँडेलले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि व्यवस्थापन समिति र शिक्षक टोलीले विभिन्न नयाँ योजना तथा सुधारका प्रयासहरू अघि बढाइरहेको जानकारी दिनुभयो। उहाँले विद्यार्थीको क्षमता विकाससँगै व्यवहारिक तथा जीवनोपयोगी शिक्षामा विद्यालयले विशेष ध्यान दिइरहेको उल्लेख गर्नुभयो।
दशजोड–२ संयोजक तथा शिक्षक कमल तिवारीले पछिल्लो समय अभिभावकहरू भीड र प्रचारको प्रभावमा विद्यालय छनोट गर्ने प्रवृत्ति बढिरहेको उल्लेख गर्दै वास्तविक गुणस्तरीय शिक्षा दिने विद्यालय पहिचान गर्न आग्रह गर्नुभयो। “विद्यार्थीको भविष्य केवल भवन र प्रचारले होइन, शिक्षाको गुणस्तर, अनुशासन र शिक्षकको समर्पणले निर्धारण गर्छ,” उहाँले भन्नुभयो।
विद्यालयका सहायक प्रचार्य लक्ष्मण कँडेलले विद्यालयले शैक्षिक उपलब्धिसँगै अनुशासन, नैतिक शिक्षा र व्यक्तित्व विकासलाई समान प्राथमिकता दिएको बताउनुभयो। उहाँले विद्यार्थीहरूको सफलताले सम्पूर्ण विद्यालय परिवारलाई थप जिम्मेवार र उत्साहित बनाएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजाका लागि विद्यालय प्रतिबद्ध रहेको धारणा राख्नुभयो।
शिक्षक अभिभावक संघका अध्यक्ष ऋषिराम भण्डारीले विद्यार्थीहरूको कडा परिश्रम, अनुशासन र निरन्तरको मेहनतकै कारण यस्तो सफलता सम्भव भएको बताउनुभयो। विद्यालयका सहायक प्रचार्य लक्ष्मण कँडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
यस वर्ष सरस्वती निकेतनबाट SEE परीक्षामा कुल ४९ जना विद्यार्थी सहभागी भएकामध्ये ४० जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। विद्यालयको सफलता दर करिब ८२ प्रतिशत रहेको विद्यालयले जनाएको छ।





उज्यालो खबर




