गैँडाकोट- नवलपुरको गैँडाकोटमा जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यसहित राष्ट्रिय साइकिलिङ प्रतियोगिता २०८३ आयोजना हुने भएको छ।गैँडाकोट नगरपालिका सँगको सहकार्यमा लियो क्लब अफ गैँडाकोट मौलाकालिकाले (भोलि) जेठ २ गते प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिता कालिगण्डकी करिडोर अन्तर्गतको १० किलोमिटर सडकखण्डमा सञ्चालन हुनेछ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको मुख्य उद्देश्य जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्नुका साथै साइकिलिङ संस्कृतिको प्रवर्द्धन र स्थानीय पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्नु रहेको जानकारी दिएको छ।
क्लबका अध्यक्ष सुगम पोख्रेलले साइकिलिङ वातावरणमैत्री यातायातको उत्कृष्ट माध्यम भएको बताउनुभयो। उहाँका अनुसार दैनिक साइकिल प्रयोग गर्दा अन्य सवारीसाधनको तुलनामा कार्बन डाइअक्साइड उत्सर्जन करिब ८४ प्रतिशतसम्म कम हुन्छ।
“नेपालजस्तो जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुकमा साइकिल संस्कृतिको विकासले इन्धन खपत घटाएर स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँछ,” उहाँले भन्नुभयो।
‘स्वच्छ वातावरण, स्वस्थ शरीर’ र ‘साइकिलिङ र जलवायु परिवर्तन’ मुख्य नारासहित आयोजना हुन लागेको प्रतियोगितामा देशभरबाट सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ। क्लबकी सचिव कृशिला सापकोटाका अनुसार प्रतियोगितामा कम्तीमा एक सय जना सहभागी हुने अपेक्षा गरिएको छ।
प्रतियोगितामा प्रथम हुनेले रु २५ हजार, द्वितीय हुनेले रु १५ हजार र तृतीय हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन्। साथै सान्त्वना पुरस्कारस्वरूप रु ५ हजार प्रदान गरिनेछ।स्थानीयतर्फ गैँडाकोटका सहभागीमध्ये प्रथम हुनेले रु १० हजार, द्वितीय हुनेले रु ५ हजार, तृतीय हुनेले रु ३ हजार तथा सान्त्वना हुनेले रु २ हजार पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, निर्धारित दूरी सबैभन्दा पहिले पूरा गर्ने महिलालाई रु ५ हजार, सबैभन्दा कम उमेरका तथा सबैभन्दा बढी उमेरका सहभागीलाई जनही रु २ हजार र फरक शारीरिक क्षमता भएका प्रतियोगीलाई प्रोत्साहनस्वरूप रु २ हजार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन आफ्नै साइकल र हेलमेट अनिवार्य गरिएको छ। आयोजकका अनुसार प्रतियोगिता अवधिभर सहभागीका लागि रु ५० हजार बराबरको दुर्घटना बीमा पनि गरिएको छ।





उज्यालो खबर



