×

काठमाडौं । नेकपा एमालेका सचेतक ऐन महरले सदनप्रति सरकार उत्तरदायी बन्न नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले संविधानअनुसारको शासन प्रणाली अवलम्बन गर्नेमा आशङ्का व्यक्त गरे ।प्रधानमन्त्री बालेन शाहले संसद्लाई पटक पटक उपेक्षा गरेको तथा संसद्को अपमान गरेको आरोप लगाए ।

उनले भने, ‘यहाँ एउटा प्रश्न जबरजस्त रूपमा उठिरहेको छ, अहिलेको सरकारले कुन शासन प्रणालीलाई अवलम्बन गरिरहेको छ ? संविधानमा व्यवस्था भएबमोजिमको शासन प्रणालीलाई अवलम्बन गरिरहेको हो कि अरू कुनै शासन प्रणाली, अरू कुनै तन्त्र विकास गरिरहेको हो ? बजारमा एउटा कुरा छ प्रधानमन्त्री बालेन शाहले लोकतन्त्रलाई भन्दा पनि कतै बालेनतन्त्र पो विकास गर्न खोज्नुभएको हो कि भन्ने एउटा आम प्रश्न र जिज्ञासा बनिरहेको छ ।’

उनले सरकार संविधानको धारा ७६(१०) अनुसार संसद्प्रति पूर्ण रूपमा उत्तरदायी र जवाफदेही हुनुपर्ने बताए। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री संसद्मा उपस्थित भएर जनताका प्रश्नको जवाफ दिनुपर्ने माग राखे।

प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने प्रतिपक्षको माग लोकतान्त्रिक, न्यायिक र कानुनसम्मत भएको उनले जिकिर गरे।उनले थपे, ‘कहिले राष्ट्रपतिको अपमान गर्ने, संसद्को अपमान गर्ने, जवाफ नदिने, यो कुराले संसद् र जनताका आवाजहरूलाई, जनताका समस्याहरूलाई सही ढङ्गले लैजान सकिन्छ ? ’

तपाईको प्रतिक्रिया