चितवनको भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित सम्भव अटो वर्कशपमा भएको हत्या घटनामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–१६ घर भई हाल भरतपुर–१६ बस्दै आएका २७ वर्षीय कृष्ण बहादुर खड्कालाई पोखराबाट नियन्त्रणमा लिइएको हो। उनलाई लुकाउन सहयोग गरेको आरोपमा २८ वर्षीय सम्राट गुरुङ पनि पक्राउ परेका छन्।
गत वैशाख २२ गते राति करिब ११:५० बजे सोही वर्कशपमा काम गर्ने रूपन्देहीको सैनामैना नगरपालिका–६ का ३० वर्षीय आशिष खनालमाथि धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते खनाललाई उपचारका लागि भरतपुर अस्पताल लगिए पनि चिकित्सकले भोलिपल्ट राति मृत घोषणा गरेका थिए।
अनुसन्धानका क्रममा खनाल र खड्का बीच लामो समयदेखि चिनजान रहेको खुलेको छ। काम गर्ने क्रममा भएको आर्थिक लेनदेन र मोबाइल फोनको विषयलाई लिएर विवाद चर्किँदै गएको प्रहरीले जनाएको छ। घटनाभन्दा केही दिनअघि पनि मोबाइल लिएको विषयमा विवाद बढेको र उनीहरूबीच फोन तथा सामाजिक सञ्जालमार्फत समेत झगडा भइरहेको खुलेको छ।
घटनाको राति बुद्धचोक आसपास दुवैबीच विवाद तीव्र भएपछि हातपात भएको र त्यसै क्रममा खड्काले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। आरोपीहरूलाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

उज्यालो खबर