चितवन- चितवनको भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित एक अटो पसलमा गएराति चक्कु प्रहार गरी एक युवकको हत्या गरिएको छ। घटनापछि आक्रमणकारी फरार भएका छन् भने उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति करिब ११:५० बजे सम्भव अटो पसलमा काम गर्दै आएका अन्दाजी ३० वर्षीय आशिष खनालमाथि अज्ञात व्यक्तिले धारिलो हतियार (चक्कु) प्रहार गरेका थिए।
गम्भीर घाइते अवस्थामा रहेका खनाललाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई गएराति १२:२० बजे मृत घोषणा गरेका हुन्।घटनापछि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार चक्कु प्रहार गरी हत्या गर्ने व्यक्ति मोटरसाइकलमा फरार भएको खुलेको छ।
प्रहरीले घटनास्थलको मुचुल्का संकलन, सम्भावित सिसिटिभी फुटेजको विश्लेषण तथा प्रत्यक्षदर्शीसँग सोधपुछ गर्दै आक्रमणकारीको पहिचान र पक्राउका लागि अनुसन्धान अघि बढाएको जनाएको छ।घटनाको कारण अझै खुल्न नसकेको र विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


उज्यालो खबर