×

चितवन-  चितवन मेडिकल कलेज ले मकवानपुरको हेटौंडा मा नयाँ अस्पताल निर्माण प्रक्रिया अघि बढाएको छ। उपमहानगरपालिका–४ मा निर्माण हुने ‘सीएमसी हेटौंडा’ नामक अस्पतालको औपचारिक शिलान्यास सम्पन्न भएको हो।करिब २ अर्ब रुपैयाँ लागतमा बन्ने यस अस्पताल एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। करिब १९ कठ्ठा क्षेत्रफलमा फैलिने भवनमा प्रारम्भिक रूपमा १०० शय्याको व्यवस्था हुनेछ।

अस्पतालमा आकस्मिक सेवा, सिटी स्क्यान, सघन उपचार कक्ष (ICU), नवजात शिशु सघन उपचार (NICU), बाल सघन उपचार (PICU), क्याथ ल्याब र आधुनिक मोडुलर अपरेशन थिएटर जस्ता सेवा उपलब्ध गराइनेछन्। साथै, विभिन्न सुपरस्पेसलिष्ट सेवा विस्तार गर्ने योजना पनि रहेको जनाइएको छ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवकोटा का अनुसार हेटौंडा बागमती प्रदेशको राजधानी भएकाले यहाँ स्थापना हुने अस्पतालले मकवानपुरसँगै बारा, पर्सा, रौतहट, सर्लाही, सिराहा लगायत आसपासका जिल्लाका बिरामीलाई सहज उपचार सेवा उपलब्ध गराउनेछ। यसले उपचारका लागि काठमाडौं वा चितवन धाउनुपर्ने बाध्यतामा कमी ल्याउने अपेक्षा गरिएको छ।

कलेजले भविष्यमा केन्द्रीय अस्पतालको रूपमा चितवनलाई आधार मानेर अन्य स्थानमा पनि स्याटेलाइट अस्पताल विस्तार गर्ने रणनीति अघि सारेको छ। नयाँ अस्पताल सञ्चालनमा आएपछि स्वास्थ्य सेवा सुदृढ हुनुका साथै स्थानीयस्तरमा रोजगारीका अवसर पनि सिर्जना हुने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया