×

चितवन-चितवन क्षेत्र नं. १, जहाँबाट हरि ढकाल निर्वाचित भएका छन्, त्यही क्षेत्रअन्तर्गत पर्ने रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी ले पराजय व्यहोरेको छ भने सरकार बाहिर रहेका दलहरूले प्रमुख पदमा जित हात पारेका छन्।

समितिको अध्यक्षमा नेपाली कांग्रेसका दीपकराज पौडेल २५४४ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी रास्वपाका नन्दुकेशरी खनालले २२५१ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा नेकपा समर्थित रामहरि अधिकारी २६१८ मतसहित विजयी भएका छन् भने रास्वपाका प्रलाद ठाकुरले १९१० मत प्राप्त गरेका छन्। सचिवमा एमालेका प्रताप डल्लाकोटी २२६७ मतसहित निर्वाचित हुँदा रास्वपाका टेकनाथ प्रसाईँले १९७० मत प्राप्त गरेका छन्।

त्यसैगरी कोषाध्यक्षमा एमालेकी विरन्जना सापकोटा २५२१ मतसहित विजयी भएकी छन् भने रास्वपाकी जयन्तीदेवि रानाभाटले १८६० मत प्राप्त गरेकी छन्।

निर्वाचनमा रास्वपा एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो। उल्लेख्य मत ल्याए पनि कुनै पनि प्रमुख पद जित्न नसक्दा सत्ताको नेतृत्व गरिरहेको दलका लागि यो परिणामलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उता, सरकार बाहिर रहेका नेपाली कांग्रेस तथा नेकपा–एमाले पक्षका उम्मेदवारहरूले भने वर्चस्व स्थापित गरेका छन्।

रत्ननगर खानेपानी नेपालकै उत्कृष्ट खानेपानी संस्थाको रुपमा पहिचान बनाएको छ । यस संस्थाले पानी बेचेरै वर्षमा झन्डै दुई करोड मुनाफा गरेको छ । चालू आर्थिक वर्षको चैत १५ गतेसम्म १ करोड ९८ लाख ६७ हजार रूपैयाँ मुनाफा गरेको छ । ४ करोड २२ लाख ३५ हजार आम्दानी गरेकोमा २ करोड २३ लाख ६८ हजार खर्च कटाएर १ करोड ९८ लाख ६७ हजार रूपैयाँ मुनाफा भएको व्यवस्थापक विश्व पौडेलले जानकारी दिए ।

संस्थाले सेवा क्षेत्रभित्रका सबै उपभोक्ताहरुलाई खानेपानीको पहुँचमा ल्याउन विभिन्न शीर्षकमा छूट दिएको छ । न्यूनतम महसुल घटाएर रातो कार्डधारी अपाङ्गता भएकालाई धारा जडान निःशुल्क, सामुदायिक विद्यालयलाई ५० प्रतिशत छूट र किस्ताबन्दीमा धारा जोड्ने व्यवस्था गरिएको छ । पानीको स्रोत संरक्षणका लागि घर–घरमा पोखरी निर्माण गरिएको छ । यस खानेपानीमा आगामी २५ वर्षसम्म खानेपानीको अभाव हुन नदिन ३६ करोडको सहलगानी आयोजना सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया