×

काठमाडौं । महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूमा नेपाली कांग्रेसले पदपूर्ति गर्ने भएको छ ।लामो समयदेखि महाधिवेशन गर्न नसकेका नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ लगायतका मुख्य भ्रातृ संस्थाहरूमा नेतृत्व मनोनयनको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले राजीनामा दिइसकेका छन् भने नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्र पार्टीको वर्तमान नेतृत्वसँग सहकार्यमा छैनन् । महाधिवेशनका लागि तदर्थ समितिको जिम्मेवारी पाए पनि तरुण दल र महिला संघ दुवैले महाधिवेशन गराउन सकेनन् ।

महाधिवेशन गर्ने म्याण्डेटसहित महिला संघमा चितवनकी मिना खरेल र तरुण दलमा काठमाडौंका मनिष कोइरालालाई अध्यक्ष बनाउने तयारी कांग्रेसले गरेको छ । मिना गत निर्वाचनमा चितवन २ बाट रवि लामिछानेविरुद्ध कांग्रेस उम्मेदवार थिइन् । तरुण दलको अध्यक्षमा चर्चा भएका मनिष काठमाडौं कांग्रेसमा सक्रिय छन् ।

कांग्रेसमा नेपाल विद्यार्थी संघको अध्यक्ष दुजाङ शेर्पा छन् । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वप्रति अनुदार शेर्पाले सिनेटको बैठकबाट नेविसंघलाई स्वायत्त बनाउने निर्णय गरेका थिए । कांग्रेसले नेविसंघको निर्णयलाई स्वीकार गरेको छैन । शेर्पालाई हटाएर नयाँ अध्यक्ष ल्याउने तयारी कांग्रेसको छ । नेविसंघ अध्यक्षमा डडेल्धुराका ईञ्जिनियर भुवन भट्ट र धनकुटाकी करुणा कटुवाल मध्ये एकको सम्भावना बढी छ ।

नेपाल दलित संघ पनि रिक्त भएको छ । संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पनि सोमबार राजीनामा दिएका छन् । कांग्रेसका एक पदाधिकारीले भ्रातृ संस्थाहरूमा तत्कालै नेतृत्व चयन हुने बताए । ‘अब धेरै ढिलो हुँदैन होला । केही दिनमै भ्रातृ संस्थाले नयाँ नेतृत्व पाउँछन्’, ती पदाधिकारीले भने ।

तपाईको प्रतिक्रिया