×

गैंडाकोट- गैंडाकोटस्थित मौलाकालिका मन्दिर ले सहायक पुजारी पदलाई प्राथमिकतामा राख्दै कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ। धार्मिक गतिविधि सुदृढ बनाउने लक्ष्यसहित मन्दिर व्यवस्थापन समितिले तीन जना सहायक पुजारी नियुक्त गर्न खुला प्रतिस्पर्धात्मक आवेदन आह्वान गरेको हो।

सूचनाअनुसार सहायक पुजारी पदका लागि वेद, संस्कृत तथा कर्मकाण्डसम्बन्धी आधारभूत ज्ञान अनिवार्य मानिएको छ। साथै दैनिक पूजा–पाठदेखि विभिन्न धार्मिक विधि सञ्चालन गर्न सक्ने दक्षता आवश्यक पर्ने उल्लेख छ। संस्कृत तथा कर्मकाण्ड विषयमा औपचारिक अध्ययन गरेका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने मन्दिरले जनाएको छ। न्यूनतम १८ वर्ष उमेर पूरा गरेका नेपाली नागरिकले यस पदमा आवेदन दिन सक्नेछन्।

यसैसँगै, मन्दिरले प्रशासनिक कार्य सुदृढ गर्न एक जना प्राविधिक सहायक पनि माग गरेको छ। उक्त पदका लागि व्यवस्थापन संकायबाट प्लस–टु उत्तीर्ण भई कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान, नेपाली तथा अंग्रेजी टाइपिङ सीप तथा इन्टरनेट र सफ्टवेयर सञ्चालनमा दक्षता आवश्यक पर्नेछ। प्राविधिक सहायक पदमा १८ देखि ३५ वर्ष उमेर समूहका उम्मेदवारले आवेदन दिन सक्नेछन्।

दुवै पदका लागि आवेदन शुल्क ५०० रुपैयाँ तोकिएको छ भने इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र गैंडाकोट–१ स्थित मौलाकालिका फेदीमा रहेको मुख्य कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।

मन्दिर व्यवस्थापन समितिका अनुसार छनोट प्रक्रिया लिखित, प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामार्फत गरिनेछ।

तपाईको प्रतिक्रिया