×

काठमाडौं । नेपालमा प्रेस स्वतन्त्रतामाथि आक्रमण र दबाब बढ्दै गएको एक प्रतिवेदनले औंल्याएको छ । फ्रिडम फोरमले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन (मे १, २०२५–अप्रिल ३०, २०२६) अनुसार एक वर्षमा प्रेस स्वतन्त्रताका ९७ वटा उल्लंघनका घटना अभिलेख भएका छन् ।

प्रतिवेदनअनुसार ती घटनाबाट १४५ जना सञ्चारकर्मी (१२३ पुरुष र २२ महिला) तथा २० सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका छन् । अघिल्लो वर्ष ६८ घटना मात्र अभिलेख भएको थियो । यसले प्रेसमाथिको जोखिम बढ्दै गएको संकेत गर्ने फ्रिडम फोरमको प्रतिवेदमा उल्लेख छ ।

प्रतिवेदनले पत्रकारमाथि हुने धम्की, आक्रमण र अवरोधलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ । एक वर्षमा २८ वटा धम्की तथा ज्यान मार्ने चेतावनी, २१ आक्रमण, १८ अवरोध र तोडफोडका घटना अभिलेख भएका छन् । यसबाहेक ८ आगजनी, ५ मुद्दा दायर र ४ पक्राउका घटना पनि भएका छन् ।

कुल प्रभावितमध्ये ३७ पत्रकारले धम्की भोगेका छन् भने ३० जना आक्रमणमा परेका छन् । ८ जनामाथि मुद्दा दायर हुँदा ६ जना पक्राउ परेका छन् ।

‘जेनजी आन्दोलन’मा मिडिया नै निशानामा

गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पत्रकारहरू सबैभन्दा बढी प्रभावित भएका थिए । सेप्टेम्बर ८ र ९ (भदौ २३ र २४ गते) भएको आन्दोलनमा २२ जना पत्रकारमाथि आक्रमण भएको थियो। तीमध्ये चार जना गोली लागेर गम्भीर घाइते भएका थिए ।

त्यसक्रममा देशका विभिन्न स्थानमा ६ सञ्चारगृहमा आगजनी र १० मा तोडफोड भएको प्रतिवेदनमा उल्लेख छ । १२ वटा टेलिभिजन प्रसारण अवरुद्ध हुँदा ३८ सञ्चारकर्मीका सवारीसाधन र उपकरण नष्ट भएका थिए ।

काठमाडौं सबैभन्दा जोखिमयुक्त, अनलाइन मिडियाका बढी प्रभावित

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी ४० घटना बागमती प्रदेशमा भएका छन्, जसमा ३३ घटना केन्द्रीय राजधानी काठमाडौंमै केन्द्रित छन् । काठमाडौंमा ६१ सञ्चारकर्मी प्रभावित भएको प्रतिवेदमा उल्लेख छ ।

यस प्रतिवेदन अनुसार पछिल्लो समय काठमाडौं पत्रकारका लागि असुरक्षित बन्दै गएको उल्लेख गरेको छ ।

मधेशमा २१, गण्डकीमा १०, सुदूरपश्चिममा ७, कोशीमा ६ र कर्णालीमा ३ सञ्चारकर्मी प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

आन्दोलन र सरकारी गतिविधि कभर गर्ने क्रममा पत्रकारमाथि अवरोध र दुर्व्यवहार बढेको छ ।

उल्लंघनमा परेका पत्रकारमध्ये आधाभन्दा बढी (७२ जना) अनलाइन मिडियासँग आबद्ध छन् । टेलिभिजनका २१, रेडियोका १८ र प्रिन्ट मिडियाका १२ जना पत्रकार पनि प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया