विद्यालयका अनुसार यस वर्षको वार्षिक परीक्षामा सहभागी भएका सबै ८३ जना विद्यार्थीहरू उत्तीर्ण भएका छन्। यसमध्ये तीन जना विद्यार्थीले मौका (पूरक) परीक्षा दिएका थिए, र उनीहरू समेत सफल भएपछि विद्यालयले सतप्रतिशत नतिजा कायम गर्न सफल भएको हो।
विद्यालयका प्राचार्य हिरालाल अर्यालले यस उपलब्धिलाई शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यको परिणामका रूपमा व्याख्या गर्नुभयो। “हाम्रो लक्ष्य केवल पास गराउनु मात्र होइन, गुणस्तरीय शिक्षा प्रदान गर्नु हो। विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको सहयोगले यस्तो परिणाम सम्भव भएको हो,” उहाँले भन्नुभयो।
त्यस्तै सहायक प्राचार्य नवराज कडेलले विद्यालयको शैक्षिक वातावरण, नियमित मूल्यांकन प्रणाली र अतिरिक्त कक्षाहरूले विद्यार्थीको सफलतामा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। “हामीले विद्यार्थीहरूलाई विशेष ध्यान दिएर तयारी गराएका थियौं, जसको परिणाम आजको सफलतामा देखिएको छ,” उहाँले उल्लेख गर्नुभयो।
हाल विद्यालयमा १४०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् भने १४० जना शिक्षक तथा कर्मचारीले शैक्षिक तथा प्रशासनिक सेवा प्रदान गर्दै आएका छन्। साथै, विद्यार्थीहरूको सहज आवतजावतका लागि विद्यालयले हालै नयाँ स्कुल बस थप गरेको जनाएको छ।
उल्लेखनीय रूपमा, विद्यालयले गत वर्षको एसइइ परीक्षामा जिल्लामै दोस्रो स्थान हासिल गर्न सफल भएको थियो, जसले यसको शैक्षिक स्तर र निरन्तर प्रगतिको संकेत गर्छ।
यति ठूलो संख्यामा विद्यार्थीहरूलाई परीक्षामा सहभागी गराएर सतप्रतिशत नतिजा हासिल गर्नु सामान्य उपलब्धि होइन। यसले गैँडाकोट इङ्लिस स्कुल को व्यवस्थित शैक्षिक अभ्यास, दृढ व्यवस्थापन र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई स्पष्ट रूपमा उजागर गरेको छ।





















उज्यालो खबर









