गैंडाकोट – Oxford College of Engineering & Management (OCEM) ले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका आरोपप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै ती आरोपहरू पूर्ण रूपमा निराधार, भ्रामक र संस्थाको प्रतिष्ठामाथि प्रहार गर्ने उद्देश्यले फैलाइएको दाबी गरेको छ।
कलेजले जनाए अनुसार सामाजिक सञ्जाल फेसबुकमार्फत अविरल पोखरेल नामक व्यक्तिले कलेजसँग सम्बन्धित विषयलाई लिएर सार्वजनिक अभिव्यक्ति दिएका थिए। ती अभिव्यक्तिमा “सरकारी जग्गामा दरबार निर्माण” तथा “राजनीतिक पहुँचका आधारमा उन्मुक्ति” जस्ता गम्भीर आरोपहरू लगाइएको उल्लेख गर्दै कलेजले उक्त दाबीहरूलाई पूर्णतः कपोलकल्पित भनेको छ।
प्रेस विज्ञप्तिमा कलेजले स्पष्ट पारेको छ कि OCEMसँग सम्बन्धित सम्पूर्ण जग्गा विधिसम्मत रूपमा दर्ता भएको, वैधानिक लालपुर्जा प्राप्त रहेको तथा कलेजका भवन र संरचनाहरू सम्बन्धित निकायबाट स्वीकृत नक्सा पास अनुसार निर्माण गरिएको हो। त्यसैले “सरकारी जग्गामा निर्माण” भन्ने आरोप जनमानसमा भ्रम सिर्जना गर्ने असत्य प्रचार मात्र भएको कलेजको भनाइ छ।
स्थापनाको २६औँ वर्षमा प्रवेश गरेको कलेजले हजारौँ विद्यार्थीलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै, बिना प्रमाण यस्ता गम्भीर आरोप सार्वजनिक गर्नु गैरजिम्मेवार, अनैतिक र कानुनविपरीत कार्य भएको पनि जनाएको छ। साथै अभिव्यक्ति स्वतन्त्रताको नाममा संस्थामाथि आक्रमण गर्ने प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिइएको छ।
कलेज प्रशासनले विद्यार्थी, अभिभावक, सरोकारवाला र आमनागरिकलाई यस्ता भ्रामक प्रचारबाट भ्रमित नहुन आग्रह गर्दै, यदि कसैलाई कलेजको जग्गा वा संरचनासम्बन्धी कागजात हेर्न मन भएमा प्रत्यक्ष सम्पर्क गरेर प्रमाण जाँच गर्न सकिने जानकारी दिएको छ।
अन्त्यमा कलेजले संस्थाको प्रतिष्ठामा आघात पुर्याउने उद्देश्यले गरिएको दुष्प्रचारमा संलग्न व्यक्ति वा समूहविरुद्ध प्रचलित कानुनअनुसार कडा कानुनी कारबाही अघि बढाइने जनाएको छ। साथै सबै पक्षलाई सत्य, तथ्य र प्रमाणमा आधारित अभिव्यक्ति दिन आग्रह गरिएको छ।




















उज्यालो खबर










