×

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बिनयी त्रिवेणी गाउँपालिका–४, सिलौटे स्थित सूर्यविनायक सामुदायिक वनमा सिकार खेल्ने क्रममा एक जना व्यक्ति घाइते भएका छन्।

१३ गते साँझ करिब १९:३० बजे भएको उक्त घटनामा पाल्पा जिल्ला निस्दी गाउँपालिका–७, देवकी स्थायी घर भई हाल बिनयी त्रिवेणी–३, कटुसघारी बस्दै आएका अन्दाजी २८ वर्षीय खिम बहादुर राक्से मगर घाइते भएका हुन्। उनको पेटको बाँया भागमा दुई वटा गोली लागेको प्वाल देखिएको छ।

घाइतेलाई प्रारम्भिक उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो भने त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि सेन्ट्रल अस्पताल, भरतपुर रिफर गरिएको छ।

घटनास्थलमा खटिएको प्रहरी टोलीले २ थान भरुवा बन्दुक बरामद गरेको छ भने प्रारम्भमा ७ जनालाई नियन्त्रणमा लिएको थियो। पछिल्लो अपडेट अनुसार थप अनुसन्धानका क्रममा जम्मा ९ जनालाई नियन्त्रणमा लिइएको छ, जसमा २ जनाको घरबाट समेत भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ।

तपाईको प्रतिक्रिया