नवलपुर – रजहर सामुदायिक प्राकृतिक चिकित्सालय ले मानिसको जीवनशैली सुधार गर्ने उद्देश्यसहित योग, प्राकृतिक चिकित्सा र ध्यानसम्बन्धी शिविर आयोजना गरेको छ। अन्तर्राष्ट्रिय आरोग्य दिवस को अवसर पारेर चिकित्सालयले अभियन्ता तथा उपचारका लागि आएका बिरामीहरूलाई लक्षित गर्दै प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गरेको हो।
चिकित्सालयका महाप्रबन्धक हरि सापकोटा का अनुसार शिविरमा योग, प्राकृतिक स्वास्थ्य र जीवनशैली सुधारसम्बन्धी सचेतना अभिवृद्धि गराइएको थियो। “प्राकृतिक चिकित्साको महत्व र स्वस्थ जीवनशैलीबारे प्रशिक्षण दिइएको छ,” उनले बताए।
उनका अनुसार जीवनशैली सुधार, योग र प्राकृतिक चिकित्सा मानव स्वास्थ्यका आधारभूत पक्ष हुन्। “सरकारले पनि यसतर्फ केही सकारात्मक संकेत गरेको छ। आरोग्य दिवसले सबैलाई स्वास्थ्यप्रति सचेत बन्न प्रेरित गरेको छ,” सापकोटाले उल्लेख गरे।
हरेक वर्ष अप्रिल १५ मा विश्वभर अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघ को सभामा नेपालको प्रस्तावमा यो दिवस मनाउने निर्णय गरिएको हो। सरकारले पनि प्राकृतिक चिकित्सा र जीवनशैली सुधारलाई प्राथमिकतामा राख्दै आएको भन्दै सापकोटाले यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।



















उज्यालो खबर










