काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले संसदीय दलको नेता चयनको विषयलाई लिएर नेतृत्व र नेताहरूबारे आवेगात्मक टिप्पणी नगर्न पार्टी पङ्क्तिमा अपिल गरेका छन् ।
उनले आफ्नो उम्मेदवारी पदको लोभ वा व्यक्तिगत महत्त्वाकाङ्क्षा नभई पार्टीभित्र नयाँ ऊर्जा र गतिशीलता थप्ने प्रयास भएको प्रष्ट पारेका छ्न् । सांसद नेम्वाङले पार्टीको मार्गदर्शक सिद्धान्त र ऐतिहासिक मूल्य(मान्यताप्रति आफू पूर्ण निष्ठावान रहेको उल्लेख गर्दै ‘अग्रजहरूको अनुभव र युवाहरूको ऊर्जा’ नै पार्टी निर्माणको मुख्य आधार भएको बताएका छन् ।
पार्टी अहिले असाधारण संकट र चौतर्फी घेराबन्दीमा रहेको औंल्याउँदै कार्यकर्तामा व्याप्त निराशा चिर्न आफूले कदम चालेको उनको दाबी छ ।
आफ्नो उम्मेदवारीलाई उनले पार्टी र आन्दोलनका लागि ‘कालकूट विष’ पिएको रूपमा अर्थ्याएका छन् । ‘म जानकार छु, मेरो यो कदम मेरो व्यक्तिगत फाइदाका लागि थिएन, तर यसले एउटा सकारात्मक सन्देश दिएको छ,’ उनको भनाइ छ ।
आफ्नो उम्मेदवारी वा निर्वाचनको विषयलाई लिएर नेतृत्व र पार्टीका अन्य नेताहरूविरुद्ध सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी नगर्न समर्थक र कार्यकर्ताहरूलाई उनको विनम्र अनुरोध छ । पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने प्रयासले कसैलाई पनि कमजोर बनाउन नहुनेमा उनको जोड छ । आफ्ना दृष्टिकोणहरूलाई आन्तरिक कमिटीमै छलफल गर्ने प्रतिबद्धता पनि उनको छ ।
दलको नेतामा चुनिएका रामबहादुर थापा ‘बादल’ लाई बधाई सहित सुहाङले कार्यकाल सफलताको कामना गरेका छ्न् ।



















उज्यालो खबर











