गैँडाकोट- देशभरका स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा देवचुली नगरपालिका जिल्लामा पहिलो स्थानमा उक्लिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार देवचुलीले ७०.२० अङ्क ल्याउँदै जिल्लाभर उत्कृष्ट पालिकाको रूपमा आफूलाई स्थापित गरेको हो।
उक्त मूल्याङ्कनमा विनयी त्रिवेणी गाउँपालिका ६८.४३ अङ्कसहित दोस्रो र हुप्सेकोट गाउँपालिका ६७.५६ अङ्कसहित तेस्रो स्थानमा परेका छन्। त्यसैगरी कावासोती नगरपालिका ६३.८२, बौदीकाली गाउँपालिका ६०.१७, गैँडाकोट नगरपालिका ५९.६४ र बुलिङटार गाउँपालिका ५५.७२ अङ्कसहित क्रमशः अन्य स्थानमा रहेका छन्।
आयोगले प्रशासनिक, वित्तीय र सामाजिक कार्यसम्पादनका आधारमा १७ सूचक तय गर्दै मूल्याङ्कन गरेको थियो। बजेट निर्माण तथा कार्यान्वयन, राजस्व परिचालन, खर्च व्यवस्थापन, बेरुजु नियन्त्रण, ‘सूत्र’ प्रणालीको प्रयोगदेखि शिक्षा र स्वास्थ्य सेवासम्मका सूचकहरू समेटिएका थिए।
देवचुली नगरपालिकाका प्रमुख हरीप्रसाद न्यौपाने ले यो सफलता सामूहिक प्रयासको प्रतिफल भएको बताएका छन्। उनका अनुसार पारदर्शिता, वित्तीय अनुशासन र सेवा प्रवाहमा सुधारका कारण नगरपालिका अग्रस्थानमा पुग्न सफल भएको हो। उनले आगामी दिनमा अझ प्रभावकारी सेवा, सुशासन र विकास निर्माणलाई प्राथमिकता दिँदै नगरलाई नमूना बनाउने प्रतिबद्धता व्यक्त गरे।
यो नतिजाले नवलपुरका स्थानीय तहहरूबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दै नागरिकमुखी सेवा प्रवाहमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।




















उज्यालो खबर











