×

गैडाकोट- मौलाकालिका मन्दिरमा धार्मिक सेवा समिति गठनका लागि चुनावी सरगर्मी तीव्र बनेको छ। कुल ५४ जनाको उम्मेदवारी दर्ता भएसँगै मन्दिर व्यवस्थापनमा नेतृत्व चयनको प्रक्रिया रोचक मोडमा पुगेको हो।

सबैभन्दा चासोको विषय बनेको अध्यक्ष पदमा तीन जनाबीच प्रतिस्पर्धा हो। यस पदका लागि काशिनाथ कंडेल, खगराज कंडेल र श्यामसुन्दर पराजुली चुनावी मैदानमा उत्रिएका छन्। त्यस्तै, गुरुकुल व्यवस्थापन समिति अध्यक्षमा चुडामणि शर्मा कंडेल र शोभानाथ गौडेल (बद्री) बीच प्रतिस्पर्धा देखिएको छ।

बरिष्ठ उपाध्यक्ष पदमा केशवप्रसाद सापकोटा (बाबु) र सुवनप्रसाद ढकाल आमनेसामने छन् भने उपाध्यक्षमा डिल्लीप्रसाद पाठक र नेत्रप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन्।यता केही पदमा भने निर्विरोध चयनको सम्भावना बलियो देखिएको छ। सचिवमा राजेन्द्रप्रसाद गौडेल, कोषाध्यक्षमा नारायण सापकोटा र सह-कोषाध्यक्षमा केशवहरि पौडेलको एकल उम्मेदवारी परेको छ।

सहसचिव पदमा भने त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ, जहाँ राधिका सापकोटा पाठक, देवकी मिश्र पौडेल र धना पौडेलबीच भिडन्त हुनेछ। साथै, कार्य समिति सदस्यका लागि २२ जनाको उम्मेदवारी परेको छ भने लेखा समिति संयोजकमा बाबुराम खनाल र इन्द्रविलास न्यौपाने प्रतिस्पर्धामा छन्।निर्वाचन संयोजक ओमप्रसाद सापकोटाका अनुसार अझै पनि सर्वसम्मत समिति निर्माणका लागि प्रयास जारी रहेको छ। “सम्भव भएसम्म सहमतिमा नेतृत्व चयन गर्ने पहल भइरहेको छ,” उनले बताए।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत्र १७ गते उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ। चैत्र १८ गते दाबी–विरोधपछि सोही दिन साँझ अन्तिम नामावली सार्वजनिक गरिनेछ। चैत्र १९ गते मतपत्रको नमुना प्रकाशन गरिनेछ भने चैत्र २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने तय भएको छ।

मतदान हुनुपर्ने अवस्था आएमा मन्दिरको कार्यालय परिसर (फेदी) मा मतदान केन्द्र राखिनेछ।मौलाकालिका मन्दिरको धार्मिक तथा सामाजिक गतिविधिसँग प्रत्यक्ष जोडिएको यो निर्वाचनले आगामी कार्यदिशा निर्धारण गर्ने भएकाले स्थानीय तहमा यसको विशेष महत्वका साथ हेरिएको छ।

तपाईको प्रतिक्रिया