×

गैँडाकोट-  नवलपरासी (ब.सु.प.) को गैँडाकोट नगरपालिका–९ स्थित चक्रघाटमा रहेको श्रीहनुमान मन्दिरमा यस वर्षको श्रीहनुमान जयन्ती २०८२ चैत्र १९ गते भव्य रूपमा मनाइने भएको छ। श्रीहनुमान मन्दिर समिति चक्रघाटले पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी गराएको हो।

समितिका अनुसार चैत शुक्ल पूर्णिमाका दिन मनाइने जयन्तीको अवसरमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछन्। कार्यक्रम अन्तर्गत श्रीहनुमानजीको विशेष पूजन, हनुमान चालिसा पाठ, अखण्ड श्रीहरिनाम संकीर्तन, दीप प्रज्वलन, आरती तथा प्रसाद वितरण लगायतका कार्यक्रम रहनेछन्।

कार्यक्रम बिहान ५ बजे नियमित पूजनबाट सुरु भई ६ बजे विशेष पूजा गरिनेछ। बिहान ७ बजेदेखि १२ घण्टे अखण्ड संकीर्तन सञ्चालन हुनेछ भने १० बजे श्रीहनुमानजीलाई ५१ केजी लड्डु भोग अर्पण गरिने कार्यक्रम रहेको छ। साथै बिहान १०:३० बजेदेखि दिउँसो २:३० बजेसम्म संस्थाको १५औं वार्षिक साधारण सभा सञ्चालन गरिनेछ।

यसैगरी बेलुका ५ बजे दीप प्रज्वलन, ६ बजे विशेष सन्ध्या आरती तथा साँझ ७ बजे संकीर्तन समापनसहित आरती, पुष्पाञ्जली र प्रसाद वितरण गरिने कार्यक्रम रहेको समितिले जनाएको छ। सोही दिन बिहान ९:३० बजेदेखि बेलुका ६ बजेसम्म आजीवन सदस्यता प्रदान, प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम पनि आयोजना गरिनेछ।

श्रीहनुमान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लिलाधर कंडेलले धार्मिक तथा सांस्कृतिक संरक्षणसँगै चक्रघाट क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रमलाई अझ व्यापक बनाइएको बताए। “श्रीहनुमान जयन्तीलाई यस क्षेत्रकै महत्वपूर्ण धार्मिक उत्सवका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य रहेको छ,” उनले भने।

त्यसैगरी समितिका सचिव उमा कुमारी पाण्डेले कार्यक्रम सफल बनाउन सम्पूर्ण श्रद्धालु, स्थानीयवासी तथा सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरिन्। “धार्मिक आस्था र संस्कृतिको जगेर्नाका लागि सबैको साथ र सहयोग आवश्यक छ,” उनले भनिन्।

समितिले कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सबैमा आह्वान समेत गरेको छ।

तपाईको प्रतिक्रिया