रत्ननगर- चितवनको रत्ननगर नगरपालिका–९, निपनी चोकमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।खैरहनीबाट भरतपुरतर्फ जाँदै गरेको लु २ ख २८९४ नम्बरको डिजेल लोड तेल ट्याङ्करले भित्री बाटोबाट मुख्य सडकमा निस्किँदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–७ निवासी ५३ वर्षीय पुर्ण सापकोटा सकुशल रहेका छन् भने स्कुटर पछाडि सवार सोही स्थानकी अन्दाजी ३०–३५ वर्षीया मिना रेग्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
ट्याङ्करले स्कुटरलाई ठक्कर दिएपछि नियन्त्रण गुमाउँदा सडक किनारमा रोकी राखिएका ना ६५ प ७८८३ र ना ५५ प ८०८३ नम्बरका मोटरसाइकल तथा एक साइकलमा समेत क्षति पुगेको छ।
दुर्घटनापछि ट्याङ्कर चालक राप्ती नगरपालिका–७ निवासी २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय टाँडी र जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान तथा व्यवस्थापन कार्य गरिरहेको छ।
दुर्घटनापछि सो क्षेत्रमा केही समय यातायात प्रभावित बनेको भए पनि हाल वैकल्पिक मार्गमार्फत सवारी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।



उज्यालो खबर




