×

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई ऐतिहासिक निर्वाचन सफलताका लागि बधाई ज्ञापन गरे।

सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा देशले शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्पन्न गरेको भन्दै प्रशंसा गरे। उनले भने, “समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यसका लागि प्रधानमन्त्रीज्यू, मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई दिन चाहन्छु।”

प्रधानमन्त्री कार्कीले भने, “अहिले देश रोएको छ। तपाईं युवाहरुसँग देशवासीले ठूलो अपेक्षा राखेका छन्। चुनौती धेरै छन् तर सम्हालिएर अघि बढ्नू। इमानदार कामले मात्र आलोचनालाई जवाफ दिन सकिन्छ।”भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। सभापति लामिछानेले सरकारले गरेका निर्णयमा आफ्नो र पार्टीको कुनै आपत्ति नरहेको स्पष्ट गर्दै पूर्ण समर्थनको संकेत पनि दिए।

साथै, पोर्चुगलमा नेपाली विद्यार्थीले भोगेका समस्या, मध्यपूर्वमा व्याप्त तनावमा नेपाली श्रमिकको सुरक्षा, र पेट्रोलियम पदार्थको आपूर्तिमा पनि उचित कदम चाल्न आग्रह गरिएको थियो।प्रधानमन्त्री कार्की र सभापति लामिछानेबीचको भेटले समसामयिक राजनीतिक सहकार्य र युवा नेतृत्वमार्फत देशलाई अघि बढाउने साझा लक्ष्यलाई बलियो बनाएको मूल्याङ्कन गरिएको छ।

तपाईको प्रतिक्रिया