×

नवलपुर –  गैँडाकोटस्थित अग्रणी शैक्षिक संस्था गैँडाकोट नमूना माध्यमिक विद्यालय/कलेज (GNSSC) ले आगामी शैक्षिक सत्र २०८३ का लागि आफ्नो ‘वार्षिक व्यावसायिक योजना’ सार्वजनिक गरेको छ।

योजनाअनुसार निर्माणाधीन नयाँ तथा सुविधासम्पन्न भवनमा आगामी शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गरिनेछ। साथै सबै कक्षाकोठालाई क्रमशः ‘स्मार्ट क्लासरुम’ मा रूपान्तरण गरिने विद्यालयले जनाएको छ। प्रविधिमैत्री शिक्षालाई प्रवर्द्धन गर्न मल्टिमिडिया र डिजिटल सिकाइ सामग्रीको प्रयोगलाई अनिवार्य बनाइने तथा ‘७-ए फ्रेमवर्क’ प्रभावकारी रूपमा कार्यान्वयन गरिने उल्लेख छ।

हाल कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट तथा स्नातक तहमा BBS कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले आगामी वर्षदेखि थप व्यावसायिक विषयहरू विस्तार गर्ने तयारी गरेको छ। विशेषगरी ‘आईटी इन्टिग्रेटेड BBS’ कार्यक्रममार्फत विद्यार्थीलाई श्रमबजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको विद्यालयले जनाएको छ।

म्यानेजिङ डिरेक्टर इन्द्र प्रसाद रेग्मीले विद्यालयको संरचनात्मक तथा व्यावसायिक विकाससम्बन्धी योजना प्रस्तुत गरेका थिए। बैठकको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक कुमार लम्सालले गरेका थिए भने प्रिन्सिपल गोपेन्द्र केशरी न्यौपानेले शैक्षिक लक्ष्य र भावी चुनौतीबारे धारणा राखेका थिए। कार्यक्रमको सहजीकरण भाइस प्रिन्सिपल चन्द्र के.सी.ले गरेका थिए।

शेयरधनी तथा विभिन्न तहका संयोजकहरूले विभागीय योजना प्रस्तुत गर्दै विद्यालयलाई अनुसन्धान, प्रविधि र व्यावहारिक सीपमा आधारित नमूना शिक्षण केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अध्यक्ष लम्सालले नयाँ पूर्वाधार, स्मार्ट कक्षाकोठा र बजारमुखी कार्यक्रममार्फत विद्यालयले शिक्षा क्षेत्रमा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया