×

काठमाडौं- नेपाली काँग्रेसका केन्द्रीय प्रचार–प्रसार समिति सदस्य करुणा सागर सुवेदीले पार्टी नेतृत्वलाई संगठनात्मक सुधार तथा नीतिगत स्पष्टता ल्याउन सुझावसहितको पत्र पठाएका छन्। उनले पार्टी सभापति गगन कुमार थापा र उपसभापतिविश्व प्रकाश शर्मा लाई सम्बोधन गर्दै “समृद्ध नेपाल, सम्मुनत नेपाली” भन्ने नारालाई कार्यान्वयन गर्न ठोस कदम चाल्नुपर्ने उल्लेख गरेका छन्।

पत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ पछि जनताले दिएको जनादेशअनुसार कांग्रेसले आफूभित्र परिवर्तन ल्याएर देश परिवर्तनको अभियानलाई अघि बढाउनुपर्ने उल्लेख गरिएको छ। उनले पार्टीको केन्द्रीय नेतृत्वदेखि वडा तहसम्म नियमित महाधिवेशनमार्फत संगठनलाई सक्रिय र जिम्मेवार बनाउनुपर्ने बताएका छन्।

सुवेदीले क्रियाशील सदस्यताको व्यवस्थापनलाई पनि पारदर्शी र व्यवस्थित बनाउन सुझाव दिएका छन्। उनले सबै सदस्यलाई डिजिटल माध्यमबाट दर्ता गरी सदस्यता शुल्क अनलाइनमार्फत संकलन गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। यसका लागि पार्टीको “एनसी कमिटमेन्ट एप्स” प्रयोग गरी सदस्यताको नवीकरण र व्यवस्थापन गर्न सकिने उल्लेख गरिएको छ।

पत्रमा पार्टीभित्र आलोचना र सुझावलाई सकारात्मक रूपमा लिनुपर्ने तथा विगतका विवादलाई अनावश्यक रूपमा दोहोर्‍याउनु भन्दा वर्तमान र भविष्यका योजना निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गरिएको छ। त्यस्तै “एक व्यक्ति, एक पद” को नीति लागू गरी पार्टी पदाधिकारीले राज्यसत्तामा जिम्मेवारी पाएमा पार्टी पदबाट अलग हुनुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिइएको छ।

सुवेदीले कांग्रेसका कार्यक्रम र सभाहरूलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार वडा तहदेखि केन्द्रसम्म एउटै शैली र पद्धतिमा कार्यक्रम सञ्चालन गर्नुपर्ने र प्लेनरी बैठकमार्फत सबैको सहभागिता सुनिश्चित गरिनुपर्ने छ।

पत्रमा “बद्लिएको कांग्रेस : समृद्ध परिवेश, बद्लिएको देश” भन्ने अभियानअन्तर्गत देशभरका ७७ जिल्लामा संयोजक तोकी कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्ताव गरिएको छ। संयोजकहरूले मासिक प्रतिवेदन बुझाउने र अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।

यसैगरी कांग्रेसले सुशासन, भ्रष्टाचारप्रति शून्य सहनशीलता, पुराना कानुनको सुधार, भ्रष्टाचारका मुद्दाको छानबिन तथा स्थानीय उत्पादनको प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने सुवेदीको भनाइ छ। कृषि उत्पादन, जडीबुटी, ग्रामीण पर्यटन र सांस्कृतिक प्रवर्द्धनलाई प्रोत्साहन गरी स्थानीय अर्थतन्त्र सुदृढ बनाउनुपर्ने उनको सुझाव छ।

पत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र सुरक्षित बसोबासजस्ता आधारभूत नागरिक अधिकार सुनिश्चित गर्न कांग्रेसले स्पष्ट नीति र कार्यक्रम ल्याउनुपर्ने पनि उल्लेख गरिएको छ। साथै पार्टीको “लोकतान्त्रिक समाजवाद” को मोडेल तयार गरी देशभर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औंल्याइएको छ।

सुवेदीले पार्टी नेतृत्वलाई यी सुझावलाई नीति तथा कार्यक्रममार्फत कार्यान्वयन गरी कांग्रेसलाई अझ बलियो र प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया