गैँडाकोट- नवलपुरको गैँडाकोटमा जारी पाँचौं मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ६१ रनले हराउँदै सेमीफाइनल यात्रा तय गरेको छ।
आइतबार भएको खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनायो। आशिष तिरुवाले २८ बलमा चार छक्का र तीन चौकासहित ४७ रन प्रहार गर्दै टोलीलाई मजबुत स्थितिमा पुर्याए। टेक रावतले ३८, कप्तान किरन ठगुन्नाले अविजित २८ तथा लोकेन्द्र चन्दले २० रनको योगदान दिए।
१६१ रनको लक्ष्य पछ्याएको कोशी १९.१ ओभरमा ९९ रनमै अलआउट भयो। कृतिक कमात (१९) र गौरव कटवाल (१८) बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। सुदूरपश्चिमका कैलाश ऐर, सौर्य श्रेष्ठ र लोकेन्द्र चन्दले समान दुई–दुई विकेट लिए। उत्कृष्ट प्रदर्शनका लागि आशिष तिरुवा ‘म्यान अफ दी म्याच’ घोषित भए।
अब सुदूरपश्चिमले फाइनल प्रवेशका लागि सोमबार मधेश प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।प्रतियोगितामा सात प्रदेश र आयोजकसहित आठ टोलीको सहभागिता रहेको छ। विजेताले तीन लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिता आयोजक संस्था नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले पुरस्कार बारे जानकारी दिँदै भने, “म्यान अफ दी सिरिजलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट ब्याटर, बलर, फिल्डर र किपरलाई जनही १५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ। साथै बेस्ट क्याच अफ दी टुर्नामेन्टलाई १० हजार, प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पाँच हजार रुपैयाँ तथा नव प्रतिभा खेलाडीलाई विशेष प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको छ।”




















उज्यालो खबर











