×

गैँडाकोट- नवलपुरको गैँडाकोट यतिबेला क्रिकेटको उत्साहले गुञ्जायमान बनेको छ। जारी गैँडाकोट मेयरकप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज कोशी प्रदेशसुदूरपश्चिम प्रदेश बीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। खेल बिहान १० बजेपछि सुरु हुनेछ।

शनिबार सम्पन्न खेलहरूमा लुम्बिनी प्रदेशमधेश प्रदेश विजयी हुँदै उपाधि यात्रालाई बलियो बनाएका छन्।

जिल्लाकै सबैभन्दा ठूलो धनराशिको राष्ट्रिय टी–ट्वान्टी प्रतियोगितामा सातै प्रदेशका टोली र आयोजक गरी आठ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

आयोजक संस्था नवजागरण ग्रामीण विकास केन्द्र का अध्यक्ष रामचन्द्र सापकोटाका अनुसार म्यान अफ दि सिरिजलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट ब्याटर, बलर, फिल्डर र किपरले जनही १५ हजार रुपैयाँ पाउनेछन् भने बेस्ट क्याच अफ दि टुर्नामेन्टलाई १० हजार रुपैयाँ र प्रत्येक खेलका म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ दिइनेछ। नव प्रतिभा खेलाडीलाई विशेष प्रोत्साहन पुरस्कारको व्यवस्था समेत गरिएको छ।

यसैबीच केन्द्रका सदस्य पिताम्बर सापकोटाले प्रतियोगिताले गैँडाकोटसहित समग्र नवलपुरको खेलकुद विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। “यस्ता राष्ट्रियस्तरका प्रतियोगिताले स्थानीय प्रतिभालाई अवसर दिनुका साथै जिल्लालाई खेल पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्छ,” उनले भने।

दर्शकलाई आकर्षित गर्न विशेष योजना समेत ल्याइएको छ। हरेक दिन खेल अवलोकन गर्न आउने दर्शकमध्ये चार जनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताको मुख्य प्रायोजन नारायणघाटस्थित शुभराशि ल्याङ्गवेज सेन्टर प्रालि ले गरेको छ। साथै नियमित रूपमा खेल हेरी फोटो तथा भिडियो सामाजिक सञ्जालमा साझेदारी गर्ने एक जना दर्शकलाई सापकोटा साइकल स्टोर्स ले माउन्टेन बाइक साइकल पुरस्कार दिने जनाएको छ।

क्रिकेटप्रेमीका लागि खुसीको खबर भनेको प्रतियोगिता अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। गैँडाकोटको मैदानमा आज फेरि प्रतिस्पर्धा, उत्साह र रोमाञ्चकताको माहोल छाउने निश्चित छ।

तपाईको प्रतिक्रिया