चितवन – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्यांकनमा इच्छाकामना गाउँपालिका चितवन जिल्लामा प्रथम भएको छ। गाउँपालिकाले ७४.३३ अंक प्राप्त गर्दै जिल्लाका अन्य स्थानीय तहलाई पछि पारेको हो।
आयोगको प्रतिवेदनअनुसार ६८.०४ अंकसहित भरतपुर महानगरपालिका दोस्रो स्थानमा रहेको छ भने ६७.१३ अंकसहित माडी नगरपालिका तेस्रो स्थानमा रहेको छ। त्यसैगरी खैरहनी नगरपालिका (६५.१०), कालिका नगरपालिका (६४.५२) र रत्ननगर नगरपालिका (६३.२३) अंकसहित क्रमशः पछिल्ला स्थानमा रहेका छन्। सबैभन्दा कम ३६.२० अंक प्राप्त गर्दै राप्ती नगरपालिका पुछारमा परेको छ।
प्रथम स्थान हासिल गरेपछि गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले यो उपलब्धि समग्र जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको साझा प्रयासको परिणाम भएको बताए। “निर्धारित समयमै योजना कार्यान्वयन, पारदर्शी वित्तीय व्यवस्थापन र सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएका छौँ। त्यसैको परिणाम आज देखिएको हो,” उनले भने।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले सूचकगत सुधारका लागि संस्थागत प्रयास गरिएको उल्लेख गर्दै आगामी वर्षमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्य रहेको बताए। “नगर/गाउँसभा समयमै सम्पन्न गर्ने, राजस्व संकलन प्रभावकारी बनाउने, शिक्षा र स्वास्थ्यका सूचक सुधार गर्ने विषयमा निरन्तर अनुगमन गरेका थियौँ,” उनले भने, “यसलाई अझ दिगो र प्रभावकारी बनाउँदै लैजान्छौँ।”
आयोगले नगर/गाउँसभा सञ्चालन, आवधिक तथा वार्षिक योजना, राजस्व संकलन, विद्यालय भर्ना र एसईई नतिजा, गर्भजाँच तथा प्रसूति सेवा, पूर्ण खोप, सरसफाइ र हरियाली प्रवर्द्धनलगायतका सूचकका आधारमा देशव्यापी रूपमा वार्षिक मूल्यांकन गर्दै आएको छ।



उज्यालो खबर




