काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यले सार्वजनिक सेवाको पदमा रहँदा वैधानिक आयभन्दा बढी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो।
आयोगका अनुसार आचार्यले गैरकानुनी रूपमा आर्जन गरेको रकमबाट श्रीमती लिली सुवेदीको नाममा समेत विभिन्न सम्पत्ति खरिद गरेको पाइएको छ। उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुवेदीलाई पनि प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ।
आयोगले गरेको अनुसन्धानअनुसार आचार्य र उनका एकाघर परिवारका सदस्यहरूको वैधानिक आम्दानी ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ मात्र देखिएको छ। तर आय–व्यय विवरण, खर्च तथा बैंक मौज्दातको मूल्यांकन गर्दा अस्वाभाविक रूपमा ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति देखिन आएको आयोगको दाबी छ।
वैधानिक आम्दानीभन्दा कुल खर्च अत्यधिक देखिएको र सोको स्रोत पुष्टि हुन नसकेपछि आचार्य र सुवेदीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।



















उज्यालो खबर









