गैँडाकोट – नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी गैँडाकोट महोत्सव भोलि शनिबार समापन गरिने भएको छ । पुस २५ देखि सुरु भएको महोत्सव सफल भएको भन्दै शनिबार समापन गर्न लागिएको हो ।
महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले स्थानीय उत्पादन प्र्रवद्र्धन र बजारीकरणका लागि महोत्सव महत्वपूर्ण बनेको बताए । महोत्सव उद्घाटनका दिन निकालिएको वृहत शोभायात्राका सहभागीहरुमध्ये उत्कृट हुने समूहलाई समापनका अवसरमा पुरस्कृत गरिने सापकोटाले बताए ।
महोत्सवको शोभायात्रामा जिल्लामा क्रियाशिल धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक, खेलकुदलगायत विभिन्न क्षेत्रबाट ३५० बढी समूहको सहभागिता रहेको थियो ।संघका महासचिव एवम् महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताए ।
आज शुक्रबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको भन्दै उनले महोत्सवमा नवलपुरबाट मात्रै नभइ चितवन र तनहुँ सहित अन्य क्षेत्रबाटसमेत दर्शकहरु आएका जानकारी दिए । यस संस्करणको महोत्सवमा ओपेरा हाउस, जलपरी शो, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको पाण्डेले बताए ।
संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका मूल संयोजक छवि कँडेलले महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेष्टुरेन्ट, व्यापारिक गरी २५० स्टल तथा बालउद्यान रहेका बताए । महोत्सवले स्थानीय कृषि र उत्पादनलाई बजारीकरण गर्नमा महत्वपूर्ण भूमिका खेलेको कँडेलको भनाइ छ ।
संघका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको बताए ।
महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै सापकोटाले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।यसैबीच, महोत्सवको सांस्कृति कार्यक्रम अन्तर्गत शुक्रबार चर्चित गायक पुष्कल शर्मा, कला लम्साल, राशी रिजाल, बन्दना विश्वकर्मा, राकेश विकलगायतको प्रस्तुती रहेको थियो ।



















उज्यालो खबर









