×

“विकास शहरबाट होइन, गाउँबाट सुरु हुनुपर्छ” भन्ने दृढ मान्यतालाई व्यवहारमै उतार्दै पश्चिम चितवनको विकास यात्राका प्रमुख निर्माता रूपमा स्थापित नाम हो— बिक्रम पाण्डे। विकास, राजनीति र समाजसेवामा निरन्तर समर्पणका कारण उहाँ आज चितवन मात्र नभई राष्ट्रिय स्तरमै एक भरोसायोग्य र लोकप्रिय जननेताका रूपमा चिनिनुहुन्छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा उपाध्यक्ष रहेका पाण्डे ज्यु सिद्धान्तमा अडिग, निर्णयमा स्पष्ट र जनताको काममा निरन्तर क्रियाशील नेता हुनुहुन्छ। प्रतिकूल परिस्थिति, राजनीतिक दबाब र भौतिक आक्रमणका बीच पनि नडग्मगाई आफ्नो राजनीतिक आस्था र जनउत्तरदायित्वमा चट्टानझैँ उभिन सक्ने क्षमता उहाँको नेतृत्वको विशेषता हो।

काङ्ग्रेस–कम्युनिस्टको गढ मानिने साविक चितवन क्षेत्र नं. ४ बाट २०५६ सालको निर्वाचनमा उम्मेदवार बनेर १०,६७० मत प्राप्त गर्नु नै उहाँको साहस, आत्मविश्वास र नेतृत्व क्षमताको प्रमाण हो। यसै निर्वाचनबाट पश्चिम चितवनमा राप्रपालाई बलियो राजनीतिक आधार दिन उहाँ सफल हुनुभयो।
२०६४ को अत्यन्त चुनौतीपूर्ण निर्वाचन होस् वा २०७४ मा आफ्नै घरमा बम विस्फोटको घटनापछि तत्कालीन माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड विरुद्ध निर्भीक रूपमा निर्वाचन लड्नु—यी सबै घटनाले उहाँलाई निडर र अडानयुक्त नेताको रूपमा स्थापित गरेका छन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा ३५,०६० मतसहित ९,२४४ मतान्तरले शानदार विजय हासिल गर्दै उहाँले जनताको अपार विश्वास पुनः प्रमाणित गर्नुभयो। पछिल्लो मध्यावधि निर्वाचनमा भने जितको प्रबल सम्भावना हुँदाहुँदै पनि जेन–जी आन्दोलनपछिको राजनीतिक मर्मलाई सम्मान गर्दै स्वयं उम्मेदवार नबनी पश्चिम चितवनका एक आदिवासी जनजाति युवालाई अघि सार्नु—त्याग, साहस र लोकतान्त्रिक चेतनाको उदाहरणीय निर्णय हो।

करिब साढे ६ वर्ष सांसदको रूपमा कार्यरत रहँदा मात्र ११ महिना मन्त्रीको जिम्मेवारी पाएर पनि माडी र भरतपुर क्षेत्रमा दर्जनौँ पुल, सयौँ किलोमिटर सडक निर्माण गर्न सफल हुनु उहाँको कार्यक्षमताको स्पष्ट प्रमाण हो।
माडीमा देखिएको कर विभेद अन्त्य गराउनु, चनौली–माडी–पर्सामा मालपोत तथा नापी कार्यालय स्थापना, नारायणी नदी तटबन्धन योजना, खानेपानी र सिँचाइ योजनाहरू, विद्यालय भवन, खेलमैदान, धार्मिक स्थल निर्माण तथा पश्चिम चितवनकै पहिलो सिँचाइ लिफ्ट परियोजना सुरु गर्नुजस्ता कार्यहरू उहाँका उल्लेखनीय उपलब्धि हुन्।

हाल राप्ती नदीमा बन्यजन्तु–मानव सुरक्षा तथा सौन्दर्यीकरणका लागि ६ करोड, चनौलीमा बहुउद्देश्यीय भवनका लागि ६ करोड तथा सडक, खानेपानी र सिँचाइतर्फका करोडौँ बजेट उहाँकै पहलमा स्वीकृत भई निर्वाचनपछि कार्यान्वयनको चरणमा रहेका छन्।

बिक्रम पाण्डे विकास निर्माणमा मात्र सीमित छैनन्। बाढी, भूकम्प, कोरोना महामारीजस्ता राष्ट्रिय विपद्का समयमा उहाँ अग्रपंक्तिमा उभिएर जनताको साथमा रहनुभयो। बिरामी, गरिब, असहाय तथा शिक्षाबाट वञ्चित हजारौँ नागरिकलाई व्यक्तिगत रूपमा सहयोग गर्नु उहाँको मानवीय पक्षको परिचायक हो।

अठोट र मेहनतबाट कालिका ग्रुप स्थापना गरी हजारौँ नेपालीलाई रोजगारी र भविष्य निर्माणको अवसर दिनु उहाँको उद्यमशील सोचको उदाहरण हो। साथै, राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासमा एकता निर्माणमा खेलेको भूमिकाले उहाँलाई संगठनभित्र पनि सम्मानित र भरोसायोग्य नेताका रूपमा स्थापित गरेको छ।

काम, योगदान र निष्ठाबाट सबै पुस्ता र सबै राजनीतिक धारका नागरिकको विश्वास जित्न सफल बिक्रम पाण्डे आज पश्चिम चितवनका सर्वप्रिय जननेता हुनुहुन्छ। विकास, राजनीति र समाजसेवाको त्रिवेणीलाई सँगसँगै अघि बढाउँदै उहाँको योगदान पश्चिम चितवन मात्र होइन, समग्र राष्ट्रकै लागि दीर्घकालीन प्रेरणाको स्रोत बनेर निरन्तर अघि बढिरहेको छ।

तपाईको प्रतिक्रिया