गैँडाकोट –नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवको माहोल रचना रिमालले तताएकी छिन् ।
बुधबार साँझ महोत्सवको सांस्कृतिक कार्यक्रमको मञ्चमा प्रवेश गरेकी रिमालले महोत्सवको माहोल तताएकी हुन् । रचना स्टेज चढ्दा छरिएर रहेका दर्शकहरु उनको आवाजपछि मञ्च अगाडि जम्मा भएर उनलाई साथ दिएका थिए ।
फोटो फिरिममा बोलको गीत गाएर सांस्कृतिक प्रस्तुती सुरु गरेकी रिमालले आफ्ना चर्चित गीतहरुबाट दर्शकलाई मनोरञ्जन दिएकी महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए ।बुधबार महोत्सवमा रचना रिमालसँगै चर्चित लोक दोहोरी गायक प्रजापति पराजुली, उमादेवी खनाल, जादुगर बलराम गिरी, वन्दना विश्वकर्मालगायतको प्रस्तुती रहेको लम्सालले बताए ।
त्यस्तै विभिन्न स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती राखेका लम्सालले जानकारी दिए । उनका अनुसार बिहीबार महोत्सवमा चर्चित कलाकार पशुपति शर्मा, दुर्गा सापकोटा, शुष्मा शाही ठकुरीसहित स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने लम्सालले बताए ।
बुधबार करिब नौ हजार दर्शकले महोत्सवको अवलोकन गरेका महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए ।
उनकाअनुसार बुधबारसम्म करिब एक लाख ८० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । पुस २५ गते सुरु भएको महोत्सव माघ १० गतेसम्म जारी रहने भन्दै सापकोटाले महोत्सवको दुई लाख बढी दर्शकले अवलोकन गर्ने बताए ।कृषि प्रदर्शनी, व्यापारिक स्टल, रेष्टुरेन्ट तथा बाल उद्यानसहित २५० बढी स्टल रहेको महोत्सवमा २५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको सापकोटाले बताए ।
संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका मूल संयोजक छवि कँडेलले स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको कँडेलको भनाइ छ ।
विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै कँडेलले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।



















उज्यालो खबर








