×

नवलपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य दिपकचन्द्र बस्ताकोटीले नवलपुर निर्वाचन क्षेत्र नं–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।

नवलपुर क्षेत्र नं–१ अन्तर्गत पर्ने उत्तरवर्ती पहाडी गाउँ बुलिङटारका स्थायी बासिन्दा बस्ताकोटी पूर्व शिक्षक हुन्। सामान्य किसान परिवारमा जन्मिएका उनी हिन्दु संस्कार, वैदिक परम्परा तथा नेपाली मौलिक संस्कृतिका अनुयायीका रूपमा परिचित छन्। समाजसेवालाई जीवनको सर्वोच्च श्रृंगार ठान्ने बस्ताकोटी इमानदार, सरल र जनमुखी नेताका रूपमा यस क्षेत्रमा चीर–परिचित छन्।

शिक्षण पेशाबाट समाज परिवर्तनको सपना बोकेका बस्ताकोटीले केवल जागिरले जीवन र देशमा आमूल परिवर्तन सम्भव नहुने यथार्थ बुझेपछि व्यवसाय र उद्यमशीलतामा हात हाले। तर गरिबी, कमजोर पूर्वाधार, बाँझिँदै गएको पहाड र सरकारी उदासीनताका कारण ग्रामीण क्षेत्रमा उद्यम गर्नु अत्यन्त जोखिमपूर्ण रहेको अनुभव गर्दै गए। यही अनुभवले राजनीति नसंग्लिएसम्म देशमा दिगो विकास र जनताको जीवनस्तरमा सुधार सम्भव छैन भन्ने निष्कर्षमा पुगेर उनी २०–२२ वर्षकै उमेरमा राजनीतिमा प्रवेश गरेका हुन्।

वर्षौंको राजनीतिक संघर्ष, त्याग र अनुभवका आधारमा बस्ताकोटीले राष्ट्रियता, धर्म–संस्कृति र पहिचानको संरक्षणका लागि राजसंस्थाको पुनर्स्थापना अपरिहार्य रहेको धारणा राख्दै आएका छन्। राजा र जनता एक भएका दिन नेपाल पुनः स्थायित्व, समृद्धि र विकासको अग्रगामी बाटोमा अघि बढ्न सक्ने उनको विश्वास छ।

यही राष्ट्रवादी विचार, सांस्कृतिक चेतना र जनताको पीडाबाट जन्मिएको राजनीतिक दृष्टिकोणका साथ राप्रपाका तर्फबाट उनले नवलपुर–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका हुन्। संसदमा पुगेपछि ग्रामीण भेगको विकास, युवालाई स्वदेशमै रोजगारी, किसानको सम्मान र राष्ट्रिय पहिचानको संरक्षणका लागि सशक्त भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता छ।

यस निर्वाचन क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका बस्ताकोटीले पार्टीको मतसँगै आफन्त, कुटुम्ब, साथीभाइ, शुभेच्छुक तथा आम मतदाताको उल्लेखनीय समर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। निर्वाचनमा कुनै असामान्य परिस्थिति नआए आफू विजयको नजिक रहेको उनको दाबी छ।

तपाईको प्रतिक्रिया