काठमाडौँ –नेकपा एमालेका सचिव महेश बस्नेतले आज सामाजिक सञ्जालमार्फत आगामी निर्वाचनमा विकास, सुशासन र राष्ट्रियताको पक्षमा उभिन नागरिकलाई आह्वान गरेका छन्।
उनले सिंहदरबार, धरहरा र अन्य राष्ट्रिय सम्पदा जोगाउने जिम्मेवारी एमालेको काँधमा रहेको उल्लेख गर्दै राष्ट्रिय संरचना जलाउने र अराजकता मच्चाउने प्रवृत्तिलाई जनताले अस्वीकार गर्नुपर्ने बताएका छन्। “राष्ट्रिय सम्पदा जोगाउने र स्थायित्व दिने शक्ति एमाले हो,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।
सचिव बस्नेतले वृद्ध भत्ता, असहाय तथा गरिब लक्षित सामाजिक सुरक्षा कार्यक्रम एमालेको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै गरिब र पीडितमाथि दमन गर्ने तथा हिंसात्मक गतिविधिमा संलग्नहरूलाई बहिष्कार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले गाउँ–गाउँमा सहकारी र घर–घरमा रोजगारी पुर्याउने नीति एमालेको रहेको बताउँदै सहकारी ठगी, आर्थिक अपराध र भ्रष्टाचारप्रति पार्टीको शून्य सहनशीलता रहेको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जाल सन्देशमा उनले सुशासन र विकास एमालेको पहिचान भएको दाबी गर्दै ठगी, अपराध र अव्यवस्थाविरुद्ध जनमत एकजुट हुनुपर्ने बताएका छन्। साथै राष्ट्रियता र सार्वभौमिकता जोगाउन विदेशी स्वार्थका लागि काम गर्ने दलाल र राष्ट्रघाती प्रवृत्तिविरुद्ध उभिनुपर्ने उल्लेख गरेका छन्।
विकास र समृद्धिको स्पष्ट मार्गचित्र एमालेसँग मात्रै रहेको दाबी गर्दै सचिव बस्नेतले भ्रम फैलाएर अराजकता सिर्जना गर्ने शक्तिलाई निर्वाचनमार्फत परास्त गर्नुपर्ने बताएका छन्।




















उज्यालो खबर









