×

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले आफ्नो टिकट खोसिएकामा असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘कार्यकर्ताको रोजाइमा पहिलो भए पनि तेस्रोपटकसमेत नेतृत्वको रोजाइमा पर्न सकिनँ ।’

उनले लेखेका छन्, ‘यसपटकको निर्वाचनमा म दैलेख–२ बाट नेकपा (एमाले)का कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिस भएको थिएँ । जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिस गरेका थिए । तर, तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन ।’

उनले आफ्नो ठाउँमा टिकट पाएका नेतालाई कटाक्षपूर्ण ढंगले भनेका छन्, ‘आफू सात वर्षको हुँदा २०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लड्न थालेका अनुभवी लक्ष्मीप्रसाद पोखरेललाई फेरि टिकट पाएका छन्, पार्टीको आन्तरिक निर्वाचनमा आफ्नै क्षेत्रका अगुवा कार्यकर्ताको पहिलो रोजाइमा नपरे पनि, हालै सम्पन्न पार्टीको महाधिवेशनमा भारी मतका साथ पराजित भए पनि नेतृत्वको रोजाइमा पर्नसक्ने लक्ष्मीजीको अद्भूत क्षमताको प्रशंसा नगरी रहन सकिँदैन ।’

उनले भनेका छन्, ‘कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो भने यसमा भन्नु केही छैन । राजनीतिमा अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने कायरहरुप्रति जति घृणा गरे पनि कमै हुन्छ ।’ उनले आफ्ना पक्षमा लाग्नेहरुलाई धन्यवाद र टिकट पाउन नसकेकामा निरास नहुन भन्दै क्षमा मागेका छन् ।

तपाईको प्रतिक्रिया