×

चितवन-  चितवनको रत्ननगर नगरपालिका–४ मा एक महिलाको विभत्स हत्या भएको छ। ६८ वर्षीया सुकमाया देवी तामाङको शुक्रबार राति हत्या भएको चितवन प्रहरीले जनाएको छ।

रत्ननगर–४ स्थित आफ्नै घरको तेस्रो तलामा एक्लै बस्दै आएकी तामाङको शव शनिबार दिउँसो प्रहरीले फेला पारेको हो। इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी सुवास भट्टका अनुसार तामाङ सुतेकै ओछ्यानमा हातखुट्टा बाँधिएको अवस्थामा मृत भेटिएकी थिइन्।

प्रारम्भिक अनुसन्धान अनुसार लुटपाट गर्ने उद्देश्यले घरमा प्रवेश गरी तामाङलाई बाँधेर श्वासप्रश्वास रोकेर हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनास्थलबाट तामाङले लगाएका सुनका मुन्द्रा, औँठी, बालालगायतका गहना हराएको पाइएको प्रहरीले जनाएको छ।

“उहाँ एक्लै बस्दै आउनुभएको थियो। परिवारका सदस्य शोकमा रहेकाले के कति लुटपाट भएको हो भन्ने यकिन हुन सकेको छैन,” डिएसपी भट्टले बताए।

तामाङका दुई छोरी र एक छोरा छन्। छोरीहरूको विवाह भइसकेको छ। छोरा अत्यधिक मदिरा सेवन गर्ने भएकाले हाल सुधार गृहमा राखिएको बताइएको छ। छोराको पारिवारिक समस्यापछि बुहारी विदेश गएकी छन्। तामाङ नातिलाई हुर्काएर बस्दै आएकी थिइन्। नाति पनि लागूऔषध दुर्व्यसनमा फसेपछि उनलाई समेत सुधार गृहमा राखिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक रूपमा लुटपाटका लागि हत्या गरिएको देखिए पनि महिलाप्रति व्यक्तिगत रिसइबीको कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

तपाईको प्रतिक्रिया