नवलपुर – नेपाली कांग्रेस क्षेत्र नं. १, नवलपुरका क्षेत्रीय सभापति अमृत भट्टचनले पार्टीको दोश्रो विशेष महाधिवेशनमा सक्रिय सहभागिताका लागि महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन्। यही पौष २७ र २८ गते काठमाडौंमा आयोजना हुन गइरहेको विशेष महाधिवेशनले पार्टीको भावी दिशा तय गर्ने भएकाले सबै प्रतिनिधिको गरिमामय उपस्थिति आवश्यक रहेको उनले बताएका छन्।
क्षेत्रीय कार्यसमितिको तर्फबाट जारी गरिएको आह्वान पत्रमार्फत भट्टचनले नेपाली कांग्रेसको इतिहासमा महत्वपूर्ण मोडका रूपमा रहेको यस विशेष महाधिवेशनमा संगठनात्मक एकता, आन्तरिक सुदृढीकरण तथा देशको समसामयिक राजनीतिक चुनौतीहरूबारे गम्भीर निर्णय लिइने उल्लेख गरेका छन्।
उनका अनुसार विशेष महाधिवेशन कांग्रेसलाई थप मजबुत, अनुशासित र जनमुखी बनाउने अवसर हो। “पार्टीभित्र सकारात्मक परिवर्तन र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने दिशामा यो महाधिवेशन निर्णायक हुनेछ,” भट्टचनले बताएका छन्।
भट्टचनले यस क्षेत्रबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई पार्टी हितलाई सर्वोपरि राख्दै सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। साथै, विशेष महाधिवेशनलाई सभ्य, भव्य र सार्थक बनाउने जिम्मेवारी सबै प्रतिनिधिको काँधमा रहेको उनको भनाइ छ।
परिवर्तनको पक्षमा आफ्नो स्पष्ट अडान सार्वजनिक गर्दै आएका भट्टचनले संगठनात्मक एकता र सुदृढ कांग्रेस निर्माणका लागि साझा प्रयास आवश्यक रहेको बताए।
नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, एकता र भावी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण थलोका रूपमा हेरिएको यो विशेष महाधिवेशनप्रति कार्यकर्ता र नेताहरूको चासो बढ्दै गएको छ।





















उज्यालो खबर










