चितवन – रत्ननगर महोत्सव २०८२ मा पार्किङ शुल्क अत्यधिक लिइएको विषयले स्थानीय जनतामाझ र सामाजिक सञ्जालमा विवाद उत्पन्न भएको छ। महोत्सवको पहिलो दिनदेखि मोटरसाइकलको पार्किङ शुल्क ४० रुपैयाँ तोकिएपछि आगन्तुकहरूले त्यसलाई मनपरी र बढी भएको बताएका थिए।
शुल्क सम्बन्धी गुनासो सार्वजनिक भएपछि चितवनका प्रमुख जिल्ला अधिकारी (सिडीओ) गणेश अर्यालले आयोजक उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरीलाई फोन गरी पार्किङ शुल्क आधा मात्र लिने निर्देशन दिएका छन्। सिडीओ अर्यालले भने, “महत्त्वपूर्ण जनहितको विषय भएकाले म आयोजकसँगै संपर्कमा छु। मोटरसाइकलसहित साना र ठूला सवारी साधनको पार्किङ शुल्क सम्बन्धी सार्वजनिक सूचना जारी गर्न अध्यक्षलाई नै भनेको छु।”
आयोजक संघका अध्यक्ष गिरीका अनुसार, “सिडीओको निर्देशन र जनताको प्रतिक्रिया अनुसार पार्किङ शुल्क घटाएर आधा मात्र राख्ने निर्णय भएको छ । आगन्तुकहरूलाई सहजता र सुविधा सुनिश्चित गर्न आवश्यक कदम चालिएको छ।”
यसअघि महोत्सवमा पार्किङ शुल्कबारे आलोचना व्यापक रूपमा फैलिएको थियो। स्थानीयले शुल्क अत्यधिक भएको, विशेषगरी मोटरसाइकलसहित साना सवारी साधनका लागि अधिक शुल्क तोकिएको बताएका थिए। अब शुल्क घटाएपछि आयोजकले पार्किङ व्यवस्थामा सुधार गर्ने र आगन्तुकलाई सहजता प्रदान गर्ने प्रतिवद्धता जनाएका छन्।





















उज्यालो खबर










