चितवन- चितवनको रत्ननगरमा रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गतेबाट सुरु हुन लागेको रत्ननगर महोत्सवप्रति गम्भीर सुरक्षा र वातावरणीय चिन्ता व्यक्त हुन थालेको छ। महोत्सव स्थल राष्ट्रिय राजमार्गसँगै जोडिएको, निकुञ्जको सिमानानजिक तथा हाईटेन्सन विद्युत् लाइनमुनी रहेको भन्दै स्थानीय बासिन्दा र सरोकारवालाहरूले आपत्ति जनाएका छन्।
राजमार्गसँगै महोत्सव सञ्चालन हुँदा तीव्र गतिका सवारी साधन, अव्यवस्थित पार्किङ र भीडभाडका कारण ठूला सवारी दुर्घटनाको जोखिम उच्च रहेको स्थानीयको भनाइ छ। विशेषगरी बालबालिका, वृद्ध र पैदलयात्रीहरू सबैभन्दा बढी जोखिममा पर्ने आशंका गरिएको छ।
त्यसैगरी, निकुञ्ज नजिक ठूलो आवाज, तेज बत्ती र रात्रीकालीन सांस्कृतिक कार्यक्रमले वन्यजन्तु तर्सिने, विचलित हुने र मानव–वन्यजन्तु द्वन्द्व बढ्ने खतरा औँल्याइएको छ। हाईटेन्सन लाइनमुनी मञ्च, स्टल र जात्रा सञ्चालन गर्नु विद्युत् दुर्घटनाको सम्भावनासमेत बोकेको गम्भीर लापरवाही भएको आरोप लागेको छ।
धार्मिक पर्यटन र संस्कृति प्रवर्द्धनको उद्देश्यसहित जानकी मन्दिरको प्रतिरूपलाई मुख्य आकर्षण बनाइए पनि सुरक्षा मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन, ट्राफिक व्यवस्थापन र आपतकालीन योजना सार्वजनिक नगरिएको स्थानीय सरोकारवालाहरूको गुनासो छ।
स्थानीय बुद्धिजीवी र नागरिक समाजले रत्ननगर उद्योग वाणिज्य संघसँग महोत्सव स्थल पुनःविचार, कडा ट्राफिक व्यवस्थापन, ध्वनि नियन्त्रण तथा वन्यजन्तु संरक्षणसम्बन्धी स्पष्ट कार्ययोजना सार्वजनिक गर्न माग गरेका छन्। अन्यथा पौष २५ बाट सुरु हुने रत्ननगर महोत्सव उत्सवभन्दा ठूलो दुर्घटनाको कारण बन्न सक्ने चेतावनी दिइएको छ।





















उज्यालो खबर










