×

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले चितवन क्षेत्र नम्बर–१ बाट छ जनाको नाम सिफारिस गरिएको छ। क्षेत्रीय समितिको आज बसेको बैठकले पूर्व प्रदेश मन्त्रीसहित छ जनाको नाम जिल्लामा सिफारिस गर्ने निर्णय गरेको हो।

सिफारिस हुनेमा बागमती प्रदेशका पूर्व कृषि तथा सहकारी मन्त्री एवं एमाले प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा, चितवन जिल्ला अध्यक्ष कमलराज पाठक, एमाले प्रदेश कमिटी सदस्य लक्ष्मी कोइराला पोख्रेल, एमाले केन्द्रीय विभागका पूर्व सदस्य डा. किशोर खनाल, चितवन क्षेत्र नम्बर–१(क) का संयोजक कृष्णलाल चौधरी तथा सचिव भरत भण्डारी रहेका छन्।

आवेदनका आधारमा यी नामहरू सिफारिस गरिएको र क्षेत्रीय समितिले जिल्ला कमिटीमा पठाएको क्षेत्रीय समिति अध्यक्ष प्रेम दवाडीले जानकारी दिए।

चितवन क्षेत्र नम्बर–१ नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र समेत हो। यसपटक भने क्षेत्रीय कमिटीले पाण्डेको नाम सिफारिस गरेको छैन। अध्यक्ष दवाडीका अनुसार पाण्डेले उम्मेदवारीका लागि आवेदन नदिएकाले उनको नाम सिफारिस सूचीमा नसमेटिएको हो।

‘क्षेत्रीय कमिटी अध्यक्षको हैसियतले मैले उहाँलाई फोन गरेको थिएँ,’ दवाडीले भने, ‘उहाँले म अहिले बाहिर छु, त्यहाँ तपाईंहरू हुनुहुन्छ, निर्णय गर्नुहोस् भन्नुभयो।’ अन्य कसैले सिफारिस गरेको भए पाण्डेको नाम जिल्ला कमिटीमा पठाइने उनले बताए।दवाडीका अनुसार एमाले विधानमा क्षेत्रीय कमिटीबाट सिफारिस भएका व्यक्ति मात्रै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न सक्ने व्यवस्था छ।

यता एमाले नेता सुरेन्द्र पाण्डेले चितवनका पार्टी कार्यकर्ताहरूले आफ्नो विषयमा स्वविवेक प्रयोग गर्ने बताएका छन्। ‘म अहिले नेपालगञ्जमा छु,’ उनले भने, ‘चितवनका लागि म आवश्यक छु कि छैन भन्ने निर्णय पार्टीले गर्छ। त्यहाँ पार्टीका साथीहरू हुनुहुन्छ, उहाँहरूले निर्णय गर्नुहुन्छ।’

बौद्धिक नेताका रूपमा परिचित पाण्डे यस क्षेत्रबाट पटक–पटक निर्वाचित हुँदै आएका छन्। चितवनमा प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र छन्। अन्य दुई निर्वाचन क्षेत्रबाट भने फागुन २२ गते उम्मेदवार सिफारिस गरिनेछ।

तपाईको प्रतिक्रिया