चितवन- चितवनका उद्योगी व्यवसायीहरूमाझ स्वच्छ छवि, मिलनसार स्वभाव र कर्मशील पहिचान बनाएका युवा व्यवसायी जनक पौडेल चितवन उद्योग वाणिज्य संघको उपाध्यक्ष पदका लागि उम्मेदवार बनेका छन्। संघको आगामी ५९औँ वार्षिक साधारण सभा तथा अधिवेशन पुस १९ र २१ गते आयोजना हुँदैछ, जसमा पौडेल सिरीष पन्त समूहबाट उद्योगतर्फको उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्दै छन्।
दशकौँदेखि होटल तथा खाद्य व्यवसायमा आबद्ध पौडेल व्यवसायीका समस्या, चुनौती र सम्भावनालाई नजिकबाट बुझेका अनुभवी व्यवसायी हुन्। उनले व्यवसायीलाई भयरहित वातावरणमा काम गर्ने अधिकार सुनिश्चित गर्न सरकारको भूमिका निर्णायक हुनुपर्ने धारणा व्यक्त गरेका छन्। “स्वदेशमै मेहनत र परिश्रम गरेर केही गर्न सकिन्छ भन्ने सन्देश दिन म यो जिम्मेवारीका लागि अघि बढेको हुँ,” उनले भने।
पौडेल हाल वैष्णव मिष्ठान्न भण्डार सञ्चालन गर्दै आएका छन्। विदेशमा आकर्षक आम्दानीका अवसर हुँदाहुँदै पनि स्वदेशमै उद्यम गर्ने निर्णय गरेका उनले आफ्ना व्यवसायलाई छुट्टै ब्रान्ड र पहिचान दिलाउन सफल भएका छन्। यही कारण उद्योगी व्यवसायीहरूबीच उनी विश्वासिलो र चिरपरिचित नामका रूपमा परिचित छन्।
उनको उम्मेदवारीको प्रमुख उद्देश्य संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै उद्योगी व्यवसायीको हकहितमा प्रभावकारी भूमिका खेल्नु रहेको छ। सिरीष पन्त समूहले बजार क्षेत्रमा पार्किङ व्यवस्थापन, होटल तथा रेष्टुरेन्ट २४ सै घण्टा सञ्चालनको व्यवस्था, संघको आर्थिक कारोबारमा पारदर्शिता र सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ।
व्यवसायी साथीहरूको व्यापक समर्थन प्राप्त हुनेमा विश्वस्त पौडेल भन्छन्, “व्यवसायीका समस्यामा सधैँ अग्रपंक्तिमा उभिने छु। आफैंले गरेको संघर्ष र अनुभव अन्य व्यवसायीका लागि प्रेरणाको स्रोत बनोस् भन्ने चाहना छ।”
स्वदेशमै उद्यमशीलता, इमान्दारिता र कर्मठतालाई मूल मन्त्र बनाएका जनक पौडेलको यो यात्रा, चितवनका उद्योगी व्यवसायीहरूलाई सशक्त, संगठित र आवाजयुक्त बनाउने दिशामा एक उदाहरणीय कदमका रूपमा हेरिएको छ।



उज्यालो खबर




