काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उर्जा मन्त्री कुलमान घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमतिमा पुगेको छ। स्रोतका अनुसार सोमबार भएको सहमतिअनुसार पार्टी सभापति रवि लामिछानेपछि दोस्रो वरियतामा रहने गरी घिसिङलाई उपसभापतिको जिम्मेवारी दिने सहमति भएको हो।
यसअघि रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहलाई क्रमशः सभापति र प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको बताइएको थियो। स्रोतका अनुसार त्रिपक्षीय सहमतिमा बालेन साह तेस्रो वरियतामा रहनेछन्। नयाँ सहमतिसँगै हालका उपसभापति डीपी अर्याल चौथो र डा. स्वर्णिम वाग्लेको वरियता पाँचौँ हुने भएको छ।
उनीहरू एउटै दलबाट समानुपातिकतर्फको बन्द सूची बुझाएर निर्वाचनमा अघि बढ्ने सहमतिमा पुगेका छन्। सोमबार उर्जा मन्त्री घिसिङ र रास्वपा सभापति लामिछानेबीच भएको भेटवार्तापछि दुवै एउटै दलबाट निर्वाचनमा जाने सहमति भएको द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले जानकारी दिए।



उज्यालो खबर




