चितवन उद्योग वाणिज्य संघको ५९औँ साधारण सभा तथा अधिवेशन नजिकिँदै गर्दा अध्यक्षका प्रत्याशी शिरिष पन्त नेतृत्वको समूह चितवनका बजार क्षेत्रदेखि विकट क्षेत्रसम्म घरदैलो अभियानमा व्यस्त रहेको छ।
युवा जोश, जाँगर र स्पष्ट भिजनसहित संघको मुहार फेर्ने उद्देश्यले पन्त समूहले हरेक उद्योगी तथा व्यवसायीका समस्या, सुझाव र राय संकलन गर्दै घरदैलो गरिरहेको छ। वर्षौंदेखि कायम रहेको चितवन उद्योग वाणिज्य संघको साख जोगाउँदै गरिमा अझ उँचो बनाउने लक्ष्यसहित आफूहरूको समूह सक्रिय भएको अध्यक्षका प्रत्याशी शिरिष पन्तले बताए।
“हामी अहिले हरेक व्यवसायीको समस्या र पीडा बुझ्न घरदैलो गरिरहेका छौँ,” पन्तले भने, “सबैतर्फबाट राम्रो साथ, सहयोग र भरोसा पाएको छु।” व्यक्तिगत स्वार्थका लागि नभई समग्र चितवन जिल्लाको आर्थिक विकास र संघको उचाइ बढाउने उद्देश्यले उम्मेदवारी दिएको उनको भनाइ छ। “मत माग्ने क्रममा संघका सदस्यहरूले काम गर्न सक्ने नेतृत्व खोजिरहेको अनुभूति मैले गरेको छु। उहाँहरूको इच्छा र आकांक्षा पूरा गर्ने दृढता हामीमा छ,” उनले थपे।
पन्त विगत २१ वर्षदेखि निर्माण सामग्री व्यवसायमा आबद्ध छन् भने पछिल्ला केही वर्षदेखि विद्युत व्यवसायमा पनि सक्रिय छन्। संघको गरिमा र मर्यादा कायम गर्न उनले विगतमा दर्जनौँ पटक पहल गरिसकेका छन्। सामाजिक कार्यमा समेत सक्रिय पन्त सबै व्यवसायीबीच लोकप्रिय व्यक्तित्वका रूपमा परिचित छन्।
वरिष्ठ उपाध्यक्षका प्रत्याशी लोकबहादुर रानाभाट पनि चितवनको व्यवसायिक क्षेत्रमा परिचित र अनुभवी नाम हुन्। परिपक्वता, नेतृत्व क्षमता र संघ हाँक्ने योग्यता भएका व्यक्तिका रूपमा उनलाई हेरिन्छ। रानाभाट झण्डै आधा दर्जन व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय छन्।
यस्तै, उपाध्यक्षका प्रत्याशी जनक पौडेल ऊर्जाशील र सक्रिय युवा व्यवसायीका रूपमा चिनिन्छन्। दशकौँदेखि आफ्ना व्यवसायमा संलग्न पौडेल विभिन्न सामाजिक संस्थामा पनि क्रियाशील छन्। अर्का उपाध्यक्षका प्रत्याशी गुणराज पौडेल चितवन उद्योग वाणिज्य संघमा एक कार्यकाल काम गरिसकेका अनुभवी व्यवसायी हुन्। संघलाई अघि बढाउने स्पष्ट भिजन भएका व्यक्तित्वका रूपमा उनी चिनिन्छन्।
अर्का उपाध्यक्षका उम्मेदवार शंकर घिमिरे फेन्सी व्यवसायी संघको नेतृत्व गरिसकेका अनुभवी व्यवसायी हुन्। व्यवसायीहरूले वर्षौँदेखि भोग्दै आएका समस्या र पीडाका उनी प्रत्यक्ष साक्षी रहेको बताइन्छ।
पछिल्लो तथ्यांकअनुसार चितवन उद्योग वाणिज्य संघमा हाल ३ हजार ७१६ जना उद्योगी तथा व्यवसायी आबद्ध छन्।



उज्यालो खबर




