×

चितवन उद्योग वाणिज्य संघको ५९ औँ वार्षिक साधारण सभा तथा अधिवेशन नजिकिँदै गर्दा नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। यसै क्रममा शिरिष पन्त नेतृत्वको समूहले शनिबार उम्मेदवारी घोषणा गरेको छ।

चितवन उद्योग वाणिज्य संघको परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत पन्त समूहले आफ्नो उम्मेदवारी सार्वजनिक गरेको हो। यसअघि संस्थापक समूह भनिएको सुवेदी समूहले उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा पन्त समूहको घोषणासँगै आसन्न अधिवेशन थप तरंगित बनेको छ।

पन्त समूहबाट अध्यक्ष पदमा शिरिष पन्तले उम्मेदवारी दिएका छन्। यस्तै वरिष्ठ उपाध्यक्ष पदमा लोकबहादुर रानाभाट, उपाध्यक्ष पदमा जनक पौडेल, शंकर घिमिरे र गुणराज पौडेल उम्मेदवार रहेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पदका उम्मेदवार शिरिष पन्तले व्यवसायीका समस्या समाधान र हक–हितको संरक्षणका लागि आफूले नेतृत्वमा उम्मेदवारी दिएको बताए। उनले चितवन उद्योग वाणिज्य संघभित्र विद्यमान समस्याहरू समाधान गर्न आफ्नो टिम सक्षम, अनुभवी र प्रतिबद्ध रहेको दाबी गरे।

पन्तले अव्यवस्थित पार्किङ व्यवस्थापन, फुटपाथ तथा ठेला व्यवसायको व्यवस्थापन, सूचना प्रविधिमैत्री सचिवालय निर्माणलगायत विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। साथै व्यवसायीमैत्री नीति निर्माणका लागि स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारसँग प्रभावकारी पैरवी गरिने उनको भनाइ थियो।

पन्त प्यानलका प्रमुख प्रतिबद्धताहरू

पन्त समूहले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा बजार व्यवस्थापन, कर प्रणाली सुधार, चितवन महोत्सवको व्यवस्थापन, संघको डिजिटल रूपान्तरण, महिला व्यवसायीको नेतृत्व विकास तथा स्थानीय उत्पादन प्रवर्द्धनलगायत ३० बुँदे योजना समेटिएको छ।

भरतपुर र नारायणगढ बजार क्षेत्रको पार्किङ व्यवस्थापनदेखि नारायणी नदी किनारका ठेलाहरूको व्यवस्थापन, होटल तथा रेष्टुरेन्ट २४ सै घण्टा सञ्चालनका लागि पहल, वैज्ञानिक घरभाडा प्रणाली लागू गर्न दबाब दिने, ‘मेड इन चितवन’ अवधारणामार्फत स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने जस्ता विषयहरू पन्त प्यानलका मुख्य एजेन्डा रहेका छन्।

त्यस्तै चितवन महोत्सवलाई थप मर्यादित र पारदर्शी बनाउन अनलाइन स्टल बुकिङ प्रणाली, स्थानीय व्यवसायीलाई प्राथमिकता, तथा ३५ दिनभित्र आय–व्यय सार्वजनिक गर्ने प्रतिबद्धता पनि समेटिएको छ।

संघलाई समावेशी बनाउने उद्देश्यले विधान संशोधन गरी महिला उपाध्यक्ष पदको व्यवस्था, आईटी क्षेत्रलाई संघको कार्यक्षेत्रमा समेट्दै आईटी विशेषज्ञलाई विशिष्ट सदस्यका रूपमा मनोनयन गर्ने योजना समेत पन्त समूहले अघि सारेको छ।

पन्त समूहले सार्वजनिक गरेका योजनाहरूलाई प्रारम्भिक खाका मात्र भएको उल्लेख गर्दै निर्वाचित भएमा सरोकारवालासँग व्यापक छलफल गरी सुझाव संकलन गर्दै कार्ययोजनालाई अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया