नवलपुर । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा नेपाली कांग्रेस हुप्सेकोट गाउँपालिका समितिको संयुक्त आयोजनामा हुप्सेकोट–१ स्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा आज बृहत् विशेष स्वास्थ्य शिविर कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
स्वास्थ्य शिविर नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा तथा नवलपुर संघीय निर्वाचन क्षेत्र नम्बर–२ का नि. वर्तमान माननीय विष्णु कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टचनले उद्योग वाणिज्य महासंघले व्यवसायिक हितसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान रूपमा अघि बढाउँदै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “व्यापार–व्यवसायसँग मात्र सीमित नरही आम नागरिकको स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा योगदान पुर्याउनु हाम्रो दायित्व हो। यस्ता शिविरहरूले ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष राहत पुर्याउने विश्वास लिएको छु।”
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरे, जिल्ला सचिव महेंद्र पोख्रेल, जिल्ला कोषाध्यक्ष राजकुमार चौधरी, कावासोती नगर सभापति सालिकराम ढकाल, मध्यबिन्दु नगर सभापति जितु थापा, हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्ण सिंह रानालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गर्न नेपाली कांग्रेस हुप्सेकोट गाउँपालिका सभापति बल बहादुर रानाको नेतृत्वमा स्थानीय संयोजक टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोजकले जनाएको छ।
शिविरमा स्थानीय सामाजिक, राजनीतिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमार्फत ५५० जना स्थानीय बासिन्दाहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श सेवा प्राप्त गरेका छन्।




उज्यालो खबर




